लकडाउनमै आर्थिक क्रियाकलाप: प्रशासनको निगरानीमा गाउँ गएका मजदुर उद्योगमा ल्याउन पाइने



काठमाडौं । कोरोना भाइरसको त्रास र त्यसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनकै बीचमा उद्योगधन्धाहरु सञ्चालन गर्न सरकारले सहज वातावरण बनाइदिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशबासीका नाममा सम्बोधन गर्दै कोरोनालाई छल्दै विकास निर्माण र आर्थिक गतिविधि चलायमान बनाउने घोषणा गरे । उद्योगी व्यवसायीले पनि उच्च सुरक्षा सतर्कता अपनाएर उद्योगधन्धा खोल्न पाउनुपर्ने बताउँदै आएका थिए ।

६४ दिन लामो लकडाउनपछि सरकारले उद्योगधन्धा खोल्न सहज वातावरण बनाइदिने घोषणा गरेको हो ।

अब नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगहरुलाई सञ्चालनको अनुमति दिइनेछ, काममा आउने आफ्ना श्रमिकलाई समुदायमा छ्यासमिस नहुने प्रबन्ध गर्ने सर्तमा जुन/जुन जिल्लाका श्रमिक हुन्, तिनीहरुलाई पहिले कोरोना परीक्षण गरी प्रशासनको निगरानीमा उद्योग/व्यवसाय सञ्चालन हुने स्थानमा ल्याउने प्रबन्ध मिलाइनेछ, प्रधानमन्त्रीको सम्बोधनमा भनिएको छ ।

तर सम्बन्धित उद्यमीले आफ्नो व्यवसायमा रहने श्रमिकहरुले तोकेको प्रोटोकल पालन गरे/नगरेको अनुगमन आफैं गरी त्यसको नियमित जानकारी सम्बन्धित प्रशासनिक निकायमा गराउनु पर्नेछ । यसको प्रभावकारिताको आधारमा क्रमशः थप व्यवसाय सञ्चालनको प्रक्रिया अघि बढाइनेछ ।

दैनिक आवश्यक वस्तुहरुको आपूर्ति सहज तुल्याउने र आन्तरिक उत्पादन बृद्धिका लागि कच्चा पदार्थदेखि उत्पादित वस्तुको बजारसम्मको शृङ्खला अवरुद्ध हुन नदिइने र आवश्यक वस्तुहरुको आन्तरिक ढुवानी र आयात/निर्यात सहज बनाइने प्रधानमन्त्रीले बताएका छन् । ।


पुष्प दुलाल