क्वारेन्टाइनमा राख्नका लागि १६ हजारसम्म खर्च लाग्ने हानको प्रस्ताव



काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले क्वारेन्टिनमा राख्नका लागि ३ हजार रुपैयाँदेखि १६ हजार रुपैयाँसम्म खर्च लाग्ने प्रस्ताव पेश गरेको छ ।

हानले गरेको प्रस्ताव नेपाल पर्यटन बोर्डमार्फत मन्त्रालयमा बुझाइएको छ । सरकारले स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्नका लागि प्रतिव्यक्ति, प्रतिदिन २ हजार रुपैयाँसम्म अस्पताललाई उपलब्ध गराउने भने पनि उक्त शुल्कमा क्वरोन्टिन राख्न नसकिने हानले स्पष्ट पारेको हो ।

‘हामीले व्यापार गर्ने होइन, संकटको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गन नै सेवा दिने हो, तर २ हजार रुपैयाँले मात्रै नपुग्ने भएकाले १६ हजार रुपैयाँसम्मको खर्च राखेर प्रस्ताव गरेका छौं,’ हानका उपाध्यक्ष विनायक शाहले भने ।

उनका अनुसार होटलको स्तर अनुसार दैनिक ४ छाक खाना खुवाउने, सम्पूर्ण मापदण्ड पालना गरी पौष्टिकतत्वयुक्त खाना खुवाउनुपर्ने भएकाले उक्त खर्च लाग्ने प्रस्ताव गरिएको हो । यसमा सम्बन्धित सबैसँग छलफल गरेर निर्णय लिन सकिने उनको भनाइ छ ।

हानका अनुसार देशभर रहेका ३३ सय सदस्य होटलमा अहिले ५० हजार बेड संख्या छ ।

नेपाल पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले भने तारे होटलले सरकारले स्वीकृत गरेको निर्देशिका अनुसार २ हजार रुपैयाँमा राख्न नसकिने भएकाले मझौला होटलहरुमा अहिले डाक्टरहरुलाई राख्न शुरु गरिएको जानकारी दिए ।

उनका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ५० भन्दा बढी डाक्टरहरुलाई राख्न शुरु भइसकेको छ ।

‘यो संकटको समय हो, यस्तो बेलामा नाफा÷घाटाभन्दा पनि सेवाभावले काम गर्नुपर्छ, तर तारे होटलहरुले उक्त शुल्कमा राख्न नसक्ने भनेपछि मझैला होटलहरुमा राख्न शुरु गरिएको छ,’ सीइओ रेग्मीले भने ।

रेग्मीले अहिलेको समयमा स्वास्थ्यकर्मीलाई नै सुरक्षित गर्न सकिएन भने संकट अझ थपिने भन्दै गुनासो गरे । उनले कतिपय तारे होटलले मूल्य कम भयो भन्दै राख्न सक्दैनौं भन्ने र कतिपय ठाउँमा स्थानीयले नै अवरोध गरेको भन्दै यो ठीक नभएको भन्दै दुःख व्यक्त गरे ।

अहिले सरकारले विदेशबाट समेत ठूलो संख्यामा नेपाली ल्याउने तयारी गरिरहेको अवस्थामा ती मानिसहरुलाई क्वारेन्टिनमा राख्नका लागि कोठाहरु आवश्यक पर्छ । त्यसका लागि अहिले देशभर रहेका होटलहरुसँग छलफल गरिरहेको छ ।

सरकारले स्वास्थ्यकर्मीका लागि होटलमा राख्ने निर्णय गरेसँगै यसको समन्वयको जिम्मेवारी नेपाल पर्यटन बोर्डलाई दिएको थियो । बोर्डले होटलसँगको समन्वयमा स्वास्थ्यकर्मीका लागि अस्पतालको समन्वयमा होटल उपलब्ध गराउनुपर्नेछ ।

निर्देशिकामा के छ ?
स्वास्थ्य मन्त्रालयले गत जेठ २ गते स्वीकृत गरेको निर्देशिकामा प्रत्येक व्यक्तिलाई प्रतिदिन २ हजार रुपैयाँका दर रकम उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

‘उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मीहरु तथा अन्य कर्मचारीहरुका लागि गुणस्तरीय तथा स्वस्थ खानपानमा २ हजार रुपैयाँमा नबढ्ने गरी प्रतिव्यक्ति प्रति दिनका लागि दरले अस्पताललाई रकम उपलब्ध गराउने,’ निर्देशिकामा भनिएको ।

उक्त रकम सरकारलाई अस्पताललाई उपलब्ध गराउनेछ । निर्देशिकामा भनिएको छ, ‘निर्देशिका कार्यान्वयन गर्दा लाग्ने व्ययभार तोकिएको अस्पतालहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचार कोषबाट उपलब्ध गराइनेछ ।’ त्यसका लागि खर्च भएको रकम उपलब्ध गराउँदा सम्बन्धित अस्पतालले आवश्यक प्रमाणहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।


क्लिकमान्डु