भारतमा बैंकको किस्ता तिर्ने अवधि अर्को ३ महिना थपियो



भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंकले बैंकको किस्ता तिर्ने अवधि तीन महिना थप गरेको छ ।

कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्प भएको र बैंकको किस्ता तिर्न सकस भएको भन्दै आरबीआईले तीन महिनाको समय थप गरेको हो । केन्द्रीय बैंकका अनुसार अगस्ट ३१ सम्म लोन तिर्न सकिनेछ ।

यसअघि पनि आरबीआईले मोराटोरियम अवधि तीन महिनासम्मका लागि दिएको थियो । जुन यही मे ३१ सम्म थियो । आरबीआईको यो निर्णयसँगै बैंकका ऋणीले मार्च १ तारिखदेखि ६ महिनासम्मको मोराटोरियम अवधि पाउनेछन् ।

उक्त निर्णयले बैंकबाट ऋण लिने स्वरोजगार कम्पनीहरु, कार लोन, होम लोनलगायतका ऋणी लाभान्वित हुनेछन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू भएको लकडाउनका कारण आयमा समस्या हुने र किस्ता तिर्न नसक्ने अवस्था आएकाले त्यहाँको केन्द्रीय बैंकले उक्त निर्णय गरेको हो ।

नेपालमा पनि केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंकको किस्ता तिर्ने समय असार मसान्तसम्म कायम गरेको छ । यसको अर्थ ऋणीले बैंकको किस्ता असार मसान्तसम्म तिर्न सक्नेछन् ।

उक्त अवधिसम्ममा ऋणको किस्ता नतिर्दा बैंकले कुनै पनि जरिवाना लिन पाउने छैनन् । यसअघि गत चैत महिनामा किस्ता बुझाउनेले ब्याजको १० प्रतिशत रकम फिर्ता समेत पाएका थिए ।


क्लिकमान्डु