लकडाउनमै ऋणीलाई फोन गरेर सावाँ-ब्याज तिर्न बैंकको दबाब



काठमाडौं । खासै राम्रो पर्फमेन्स देखाउन नसकेको सांग्रिला डेभलपमेन्ट बैंकका कर्जा शाखाका एक कर्मचारीले बिहीबार एक ऋणीलाई फोन गरेर भने-सर नमस्कार म सांग्रिला बैंकबाट बोल्दैछु । आराम हुनुहुन्छ ?

ऋणीले भनेः आरामै छु हजुर ।

बैंकका कर्मचारीः तपाईंले लिएको ऋणको किस्ता २ महिना (चैत र बैशाख) ड्यु भएको छ ।

ऋणीले भनेः हजुर भन्नुस् न ।

कर्मचारीः तपाईं जागिर खानुहुन्छ कि के गर्नुहुन्छ ?

ऋणीः जागिर खान्छु ।

कर्मचारीः लकडाउनयता तलब आएको छ कि छैन ?

ऋणीः आइराछ अलिअलि ।

कर्मचारीः कति ?

ऋणीः ५०/६० प्रतिशत ।

कर्मचारीः तलब आएकै रहेछ, किस्ता तिर्नुस् न है ।

ऋणीः ५० प्रतिशत तलब आएको छ । खर्च गर्दै ठीक छ ।

कर्मचारीः किस्ता ड्यु छ । भन्नुस् कहिले तिर्नुहुन्छ ।

ऋणीः लकडाउन खुलेपछि ।

कर्मचारीः खुलेकै भोलिपल्ट हाल्दिनुस् है ।

ऋणीः हैन के सारो केरकार गर्नुभएको । राष्ट्र बैंकले नै असार मसान्तसम्ममा तिर्दा हुन्छ भनेको छ त ।

कर्मचारीः राष्ट्र बैंकको भन्ने काम हो भन्छ नि । हामीलाई पनि त गाह्रो छ नि ।

ऋणीः तपाईं बैंकलाई गाह्रो छ भने हामी जनतालाई झन् कति गाह्रो होला ?

कर्मचारीः सबैलाई गाह्रो छ । सकेसम्म छिटै हाल्निुनोस् न है ।

ऋणीः हुन्छ प्रयास गर्छु । असार मसान्तमाचाहीँ कन्फर्म आउँछ ढुक्क हुनुहोस् । अब फोन गरिरहनु पर्दैन ।

कर्मचारीः हस् धन्यवाद ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई फोन गरेर किस्ता तिर्न दबाब दिइरहेका छन् ।

राष्ट्र बैंकले ऋणको साँवा/ब्याज तिर्ने समय असार मसान्त पुर्याएपनि बैंकहरु भने लकडाउनकै बेला धमाधम ऋणीलाई फोन गरेर पैसा तिर्न दबाब दिइरको छन् ।

खासगरी बैंकहरुले साना ऋणीलाई बढी दबाब दिइरहेका छन् । कोरोनाले पनि साना तथा मझौला उद्योगलाई बढी प्रभावित गरेको निष्कर्श निकाल्दै सरकारले साना ऋणीलाई विशेष राहत प्याकेज ल्याउने तयारी गरिरहेका बेला बैंकहरुले भने ऋण उठाउन उत्रिएका हुन् ।

राष्ट्र बैंकले ऋणीहरुलाई दिएको सहुलियत दिन पनि बैंकहरु हिच्किचाएका छन् । ऋणी आफैंले यस्तो व्यवस्था छ नि भन्दा समेत बैंकको कर्जा शाखाका कर्मचारीहरु अन्कनाउँदै स्वीकार गर्छन् ।


पुष्प दुलाल