सरकारले घोषणा गरे अनुसार लकडाउनमा उद्योग चलाउन सहज छैनः वरिष्ठ उपाध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले सहज वतावरण सिर्जना नगरे उद्योग सञ्चालन गर्न नसकिने बताएका छन् । सरकारले लकडाउनको समयमा खोल्ने भनेका ४४ वटा उद्योग घोषणामा नै सीमित हुने बताए ।

सोमबार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा गोल्छाले सरकारले ४४ वटा क्षेत्र सञ्चालन गर्न सक्ने घोषणा गरे पनि सोही अनुसार काम नभएको बताए ।

‘एक जिल्लाबाट अर्को जिल्लामा जान समस्या छ, कच्चा पदार्थ ल्याउन पनि समस्या छ, यस्तो अवस्थामा सञ्चालन गर्नुहोस् भनेर मात्रै हुँदैन, त्यसका लागि वातावरण पनि बनाउनु पर्छ,’ उनले भने ।

उनका अनुसार श्रम ऐनमा महामारीका बेलामा कुनै श्रमिक रोग लागेर मरेको अवस्थामा सम्पूर्ण जिम्मेवारी संस्थाले लिनुपर्ने लेखिएको बताउँदै निजी क्षेत्रले त्यसको जिम्मेवारी लिन नसक्ने स्पपष्ट पारे ।

उनले अबको तलरताको समेत समस्या हुने बताउँदै त्यसका लागि बैंकहरुले पनि निक्षेपमा ब्याज घटाउनुपर्ने बताए । साथै सरकारले उद्योगका लागि विद्युत महसुलमा पनि छुट दिनुपर्ने माग गरे ।

‘यो बर्खामा ७०० मेगावाट विद्युत त्यत्तिकै खेर जाँदैछ, यस्तो अवस्थामा उक्त विद्युत उद्योगलाई सस्तो महसुलमा दिनुपर्छ ताकी उत्पादन बढोस र आयात पनि कम होस,’ उनले भने ।

उनले सरकारसँग निजी क्षेत्रले जीडीपीको ५ प्रतिशत बराबरको स्टिमुलस प्याकेजको माग गरेको भन्दै त्यो आवश्यक भएको बताए । उनले कोभिडका कारण साना, घरेलु तथा मझौला उद्योगहरु सबैभन्दा बढी मारमा परेको भन्दै साना व्यवसायीहरुलाई बिना धितो कर्जा उपलब्ध गराउनुपर्ने बताए ।


क्लिकमान्डु