बैंकका कर्मचारी कोरोना र प्रहरीसँग त्रसित छन्: राष्ट्र बैंकको बीरगञ्ज कार्यालयका प्रमुख थापा



विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरसका संक्रमितहरु नेपालमा पनि गुणात्मकरुपमा बढिरहेका छन् । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित बीरगञ्जमा भेटिएका छन् । बीरगञ्ज देशकै ठूलो आर्थिक नगरी हो । कोरोनाको इपिसेन्टर बनेसँगै बीरगञ्जमा निकै ठूलो सन्त्रास फैलिएको छ । बीरगञ्जमा बैंक तथा वित्तीय संस्थाहरुको पनि बाक्लो उपस्थिति छ । यस्तो अवस्थामा बीरगञ्जमा बैंकहरुले कसरी सेवा प्रदान गरिरहेका छन्, के कस्ता समस्या भोगिरहेका छन्, प्रशासनले कतिको सहयोग गरेको छ ? यस्तै विषयमा केन्द्रित रहेका नेपाल राष्ट्र बैंकको बीरगञज क्षेत्रीय कार्यालयका प्रमुख राजनबिक्रम थापासँग क्लिकमाण्डूले गरेको कुराकानीः

वीरगञ्जमा राष्ट्र बैंकको कार्यालयले कसरी काम गरिरहेको छ ?

बैंकिङ क्षेत्रमा अहिले त्यस्तो समस्या छैन । यसका लागि विभिन्न प्रकारको रणनीतिअनुसार काम पनि भइरहेको छ । पहिलेदेखि नै आलोपालो प्रणालीमा गरिएको थियो भने सरकारले गरेको पछिल्लो निर्णय अनुसार बीरगञ्ज औद्योगिक नगरी भएको र नाकाबाट पनि सामानहरु आउने भएकाले खोल्नुपर्छ भन्ने मान्यता अनुसार काम भइहेको थियो ।

यो समय राजस्व असुलीको समय पनि भएकाले वीरगञ्जको बैंकिङ क्षेत्र आवश्यक छ भन्ने मानसिकताका आधारमा खुलेको हो । तर २÷३ यता अनपेक्षितरुपमा संक्रमितहरु बढेकाले बैंकिङ क्षेत्रका मानिसहरु तनावमा छन् । यसो भन्दैमा बैंकिङ सेवा नदिने भन्ने हुँदैन । र, अर्को विषय वीरगञ्जमा विद्युतीयरुपमा कारोबार गर्नेहरुको संख्या एकदमै कम पनि भयो ।

डिजिटल कारोबारको अवस्था कस्तो ?

यहाँका मानिसमा पैसा भन्ने वित्तिकै बैंकमै जानुपर्छ भन्ने भएकाले धेरे मुभमेन्ट र सोसल डिस्टेन्सिङ पनि कम कार्यान्वयन भएको छ । यसले अलिकति गाह्रो हुन्छ भन्ने हो । यसका लागि प्रशासनसँग पनि काम गरिरहेका छौं । एउटै क्षेत्रमा ४०/४५ वटा बैंकहरु छन् । एउटा बैंकमा १० जनाका दरले काम गर्दा पनि ४ सय जना मानिसहरु एकै ठाउँमा हुने भए ।

प्रशासनसँग कसरी समन्वय गरिरहनुभएको छ ?

प्रशासनसँग पनि समन्वय भइरहेको छ । मानिसको धेरै मोविलिटी हुँदा सवारी साधन पनि सोहीरुपमा बढेका छन् । तर सरकारले पनि २५ प्रतिशतभन्दा बढी पास नदिने भन्ने निर्देशन आएको हुँदा अब केही कम हुन्छ कि भन्ने हो । लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन भने गर्न सकिएको छैन । तर आजदेखि भने प्रशासनले लकडाउन धेरै नै कडा बनाएको छ ।

वीरगञ्जमा मात्रै बैंकका कति जति शाखा होलान्, कारोबार कत्तिको भइरहेको छ ?

वाणिज्य र विकास बैंक गरेर ४६ वटा जति शाखा छन् । कारोबारको हकमा नर्मल तरिकाले हुने गरी त भएको छैन । तर हाम्रोबाट पैसा आउने र जानेउस्तै छ । सरदरमा दैनिक ८/९ करोड रुपैयाँ जति छ । पहिले त सिजनल हुन्थ्यो । सामान्यताः पनि दैनिक २५/३० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म पनि हुन्थ्यो ।

सरकारले लकडाउन केही खुकुलो गरेका कारणले पनि समस्या आएको हो ?

पक्कै पनि । सरकारले ४२ वटा क्षेत्र खुला गरिदियो । त्यो अनुसार बैंक पनि खुला गर्नुपर्ने अवस्था आयो । तर बैंक खुलाहुँदा बजारमा बढ्ने मुभमेन्ट एकदमै धेरै भयो । काठमाडौंमा पनि भीड भएको कारण पनि त्यही हो । वीरगञ्जको हकमा पनि प्रशासनले पनि भीड बढाउनुमा बैंकिङलाई नै मानेको छ ।

अब भीडलाई नियन्त्रण नगरेसम्म त नहुने अवस्था आयो । बजारमा कोही पनि हिँडिरहेको छ भने पनि बैंकमा जान लागेको भने मात्रै पनि छाड्नु पर्ने अवस्था छ । मुख्यकुरा सवारी साधनको नियन्त्रणमा समस्या भएको छ । प्रशासनले पनि हामीलाई सोही अनुसारले सहयोग गर्न नसकेको अवस्था छ ।

पहिले त आलोपालो प्रणालीमार्फत् खुला गरिएको थियो, त्यसले किन काम नगरेको हो ?

हो, पहिले हामीले आलोपालो तरिकाले नै काम गरेको हो । तर त्यो सफल भएन । कुनै दिन बैंक खुल्दैन । तर खुलेको दिन २/३ सय मानिस एकैपटक जम्मा हुन थाले । त्यसपछि हामीले नियमित नै गरेका हौं । अर्को कुरा वीरगञ्जमा पनि अन्य ठाउँको तुलनामा मोबिलिटी बढी नै हो ।

हरेक दिन वीरगञ्जमा कोरोनाका संक्रमित बढ्दै जाँदा बैंकका कर्मचारीहरु कत्तिको त्रासमा छन् ?

पक्कै पनि त्रास नै छ । बैंकिङ क्षेत्रका कर्मचारीमा जोखिम र त्रास दुबै उत्तिकै छ । जो संक्रमितहरु भए उनीहरु पनि बैंकबाट सेवा लिएका होलान् । अहिले बैंकका कर्मचारीहरुको माग नै कम्तीमा घर आउने र जाने सवारी पास सहज भइदियो हुन्थ्यो भन्ने नै छ ।

सरकारले पनि स्थानीय तहसँग समन्वय गरेर खोल्नु भनेको छ । वीरगञ्ज इपिसेन्टर नै भइसकेको छ । यो बेला शाखा कम खोले हुँदैन ?

यो कुरा मान्नका लागि प्रशासन नै तयार छैन । किनभने अस्पताल खोलिरहेका छन् । अस्पताल खोल्नु भनेको मानिसलाई जुनसुकै समयमा पनि पैसा चाहिन्छ भन्ने भयो । औद्योगिक करिडोर खुलेकाले उत्पादन पनि बिक्री हुने भयो । त्यसका लागि पनि पैसा राख्ने र झिक्ने भन्ने भयो । वीरगञ्जको विशेषता नै अन्यभन्दा बढी भयो । बन्द गर्नका लागि पनि सबैको खाता निश्चित बैंकमा मात्रै हुँदैन र यो बोर्डर भएकाले क्यासको फ्लो पनि बढी हुने ठाउँ पनि हो । त्यसले गर्दा अलिकलित समस्या हुन्छ नै ।

प्रशासनले अहिले टाइम कार्डको व्यवस्था गरेको छ कि छैन ?

त्यही विषयमा मैले सीडीओ साबलाई पत्र लेखेर हामीलाई बिहानमा पौने १० बजेसम्मका लागि कति जनाका लागि दिने हो त्यो कार्यान्वयन गरौं भनेको हो । बरु १० बजेपछि ३ बजेसम्म नियन्त्रण गरौं भन्ने हो । अहिले बैंकका कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिने भएको अवस्था छ । कार्ड देखाउँदा पनि नदिने अवस्था छ ।

काठमाडौंको हकमा अहिले केही बैंकहरुले सबै कर्मचारी नै बोलाएर काम गराइरहेको अवस्था छ त्यहाँ कस्तो छ ?

यहाँ त्यस्तो छैन । पहिलो कुरा त कर्मचारीहरु आउन पनि डराइरहेका छन् । तर यहाँ त्रास भएकाले पनि समस्या छ । घरबाट निस्कन पनि गाह्रो छ । म्यानेजरहरुलाई कर्मचारी ल्याउन पनि समस्या छ ।

आजका दिनमा त्यहाँको समस्या के हो ?

मुख्य समस्या भनेको यहाँ संक्रमितको संख्या बढिरहेको छ । खुला सीमाना छ । कुन बेला मानिसहरु आउँछन कसैले ट्रेस गर्न सकिएको छैन । यो त अहिलेको समस्याभन्दा पनि डेढ दुई महिनायता एकुमेलेड भएर बसेको अवस्था छ । हामीसँग माइक्रो लेभलमा छैन म्याक्रो लेभलमा छैन । अहिले ३/४ जनामा मात्रै परीक्षण गरेर हुने अवस्था छैन । कम्तीमा २५ प्रतिशत जनसंख्यामा गर्नुपर्छ । त्यति नगरी यकिन हुने अवस्था हुँदैन । यहाँको धेरै मानिसहरु मजदुरी लेभलका हुन् । केही सीमित उद्योग घराना र अन्य केहीलाई छाड्ने हो भने अधिकांश मजदुरी लेभलकै हुन् । यस्तो अवस्थामा ती मानिसहरु घरबाहिर निस्कनै पर्छ । तरकारी बेच्ने बाहनामा वा अन्य कुनै न कुनै बाहनामा बाहिर निस्किरहनु भएको छ ।

अर्को कुरा बैंकिङ क्षेत्रमा एकजना मान्छेले पनि बैंकिङ सेवा पाइन भन्ने अवस्था छैन । सबैले सेवा पाउनु भएको छ । अब जोखिम न्यूनिकरणका लागि मानिसको आवतजावत घटाउने, अत्यावश्यक आवश्यक अवस्थामा मात्रै खोल्ने वा संक्रमणको समयमा केही सेवालाई अलिकति होल्ड गर्नैपर्छ ।

डिजिटल कारोबारलाई कसरी प्रोत्साहन गर्नु भएको छ ?

अहिले त कसरी प्रोत्साहन गर्नु र ? पहिले नै यहाँका मान्छेमा डिजिटलमा जानुपर्छ भन्ने चेतनाको पनि कमी छ । अहिले प्रचारप्रसार गरेर खाता खोले पनि हुँदैन । अब कोरोनाको संक्रमण र जोखिम अलिकति कम भइसकेपछि सबै प्रशासनलाई डिजिटलमा लैजाने भनेका छौं । अब हामीले पनि आगामी वर्षसम्मा २ वटा जिल्लामा रहेका कलेज, स्कुलमा डिजिटल प्रणालीमा लैजाने प्रस्ताव गरेका छौं । अन्य स्थानीय निकायलाई पनि सुझाव दिएको छ ।

राष्ट्र बैंकका कर्मचारीहरु सबै आउनु भएको छ कि छैन ?

छैन । हाम्रो युनिटहरु हुन्छ । त्यसैले कुनै पनि एकाइ प्रभावित नहुने गरेर ४०/४५ प्रतिशत जति मात्रै कर्मचारी छौं । वीरगञ्जमा भएकाले सचेत हुने अवाश्यक छ । तर त्यति ठूलो डर त छैन हाम्रा लागि । अहिले घरपरिवारले पनि किन बसेको घर आउनु पर्यो भन्ने पनि छ । र, कतिपय अवस्थामा काठमाडौं सुरक्षित छ भन्ने पनि मानसिकता पनि देखिएको छ । काठमाडौंमै भइदिएको भए सुरक्षित हुन्थ्यो कि भन्ने छ । भइहाल्यो भने पनि उपचारपछि निको भइन्छ भन्ने हुनुपर्छ । यो बेलामा हामीले नकारात्मकरुपमा सोच्नुभन्दा पनि समन्वयका हकमा काम गर्नुपर्छ भन्ने लाग्छ ।


पुष्प दुलाल