कोरोना रोकथाममा सरकारले बदल्यो रणनीति: मन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलेको भन्दा अलि फरक नीति अवलम्बन गरेको बताएका छन् ।

सोमबार चीन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरणमा मन्त्री ढकालले पहिला कोरोना नेपालमै प्रवेश गर्न नदिने नीति अख्तियार गरेको भए पनि अहिले विस्तार हुन नदिने नीति अबलम्बन गरिएको बताए । उनले भने ‘पहिले प्रवेश गर्न नदिने नीतिमा थियौँ, अहिले हामी यसको विस्तार सीमित गराउने अभियानमा लागेका छौँ ।’

मन्त्री ढकालले मावनीय क्षति बिना नै कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भैरहेको बताए । स्वास्थ्य सामग्री र अनुभव दुबैको अभावका बीचमा पनि राम्रो प्रयास भैरहेको भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको प्रशंसा गरे । कोरोना नियन्त्रणका लागि चीनले अवलम्बन गरेका नीति र बाटोलाई विश्वका जुनजुन राष्ट्रले अनुशरण गरे उनीहरूले जोखिम निन्त्रयणका लागि महत्वपूर्ण शिक्षा प्राप्त गरेको उनको भनाइ छ ।

मन्त्री ढकालले चीनका तर्फबाट विभिन्न मोडलमा भैरहेको चिकित्सकीय छलफल र अन्तरक्रियाले पनि नेपालमा कोरोना रोकथामका लागि महत्वपूर्ण काम गरेको बताए ।

मन्त्री ढकालले अभावको समयमा चीनले अत्यावश्यकीय स्वास्थ्य सामग्री अझै उन्नतस्तरमा पठाएर धेरै राम्रो सहयोग गरेको बताए । उनले नेपाल र चीनको मित्रता महत्वपूर्ण रहेको भन्दै हिजोका दिनमा चीनमा दुःख पर्दा नेपालले पनि सहयोग गरेको भन्दै एकअर्कालाइ सहयोग गरेर अघि बढिएको बताए ।

त्यस अवसरमा नेपालका लागि चिनीयाँ राजदूत ह्वा यान छीले कोरोना भाइरसँग लड्न नेपाललाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन् । उनले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको उल्लेख गर्दै चीन संकटमा सदैव नेपालको साथमा रहने प्रतिबद्धता जनाइन ।

चीनले नेपाललाई ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, पिपइ सेट १० हजार थान स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


क्लिकमान्डु