निजगढ विमानस्थलः ४२ सय रुख काट्ने र जुरिच इन्टरनेशनलसँग सम्झौता गर्ने निर्णय



काठमाडौं । निजगढ विमानस्थल निर्माणका लागि काम अघि बढाइने भएको छ । आइतबार पर्यटनमन्त्रामा बसेको उच्चस्तरीय सहजीकरण समितिको बैठकले गठित कार्यदलले १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

कार्यदल यसअघि गत माघ २ गते नै गठन गरिएको थियो । जसमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह–सचिवको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवको आयोजना हेर्ने निर्देशकसमेत छन् । बैठकले प्रतिवेदन १० दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

बैठकले २०७४ साल भदौ १९ गते विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानी गर्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको समझदारी पत्र मा उल्लेखित म्याद थप गरी सम्झौतामा उल्लेखित कार्यहरु अगाडि बढाउने निर्णय गरेको छ ।

त्यस्तै, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सेक्टर वन कार्यालय, निजगढद्वारा पेरिफेरी रोड निर्माणका लागि गणना गरिएका ४ हजार २३२ रुखको कटान–स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने समेत निर्णय गरेको छ ।

साथै, विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलहरुको लगत नम्वरीङ कार्य तत्काल अघि बढाउने र लगानी बोर्डले निश्चित समय सीमा तोकी जुरिच इन्टरनेशनलसँग सार्वजनिक-निजी साझेदारी (पिपिपि) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रकृया पूरा गर्ने समेत निर्णय गरेको छ ।

त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृया शीघ्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।


क्लिकमान्डु