५ करोडभन्दा बढी ऋण लिनेको शुक्ष्म अध्ययन गरिँदै, अब असरका आधारमा राहत



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ५ करोड रुपैयाँभन्दा धेरै ऋण लिनेको शुक्ष्म अध्ययन तथा विश्लेषण शुरु भएको छ । त्यस्ता ऋणीको व्यापार व्यवसायमा कोरोना नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनले के कस्तो असर पार्यो भनेर अध्ययन शुरु गरिएको हो ।

शुक्ष्म अध्ययन तथा विश्लेषणबाट प्राप्त विवरणका आधारमा त्यस्ता व्यवसायीलाई के केस्तो राहत दिने भनेर थप निर्णय लिइने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

यसअघि नै दुई पटक राहत प्याकेज ल्याइसकेको राष्ट्र बैंकले तेस्रो चरणको राहत प्याकेजका लागि अध्ययन तथा विश्लेषण थालेको हो ।

राष्ट्र बैंकले प्रत्येक बैंकका ऋण अधिकृतलाई ५ करोड रुपैयाँभन्दा मथिका कर्जाको शुक्ष्म अध्ययन तथा विश्लेषण गर्न भनेका छौं,’ राष्ट्र बैंकका एक अधिकारीले क्लिकमाण्डूसँग भने, ‘ऋणीको व्यापार व्यवसायको अवस्था कस्तो छ, के कस्ता समस्या भोगिरहनु परेको छ र कस्तो किसिमको राहत प्याकेज आवश्यक छ ? भनेर हामीलाई निर्णय लि न सजिलो हुन्छ ।’
यसअघि फ्ल्याटमा राहत दिँदा राम्रो व्यापार व्यवसाय भइरहेकाले पनि राहत पाएको र व्यापार व्यवसाय ठप्प भएकाले कम पाएको राष्ट्र बैंकको ठहर छ ।

‘तेस्रो चरणको राहत व्यवसायमा परेको प्रभावका आधारमा होस् भन्ने हाम्रो तयारी हो,’ स्रोतले भन्यो ।

राष्ट्र बैंकले बैंकिङ प्राणालीमा पर्याप्त तरलता प्रभाव गरेर व्याजदर थप घटाउने विषयमा पनि तयारी गरिरहेको ती अधिकारीले जानकारी दिए ।

राष्ट्र बैंकले कोरोना भाइरसले कुन बैंक तथा वित्तीय संस्थामा कस्तो असर पार्छ भनेर पनि अध्ययन गरिरहेको छ ।


पुष्प दुलाल