होमस्टेसँगै अब फार्मस्टे पनि सञ्चालन गरिने , कृषिमन्त्रालयसँग सहकार्य शुरु



काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि होमस्टेसँगै फार्मस्टे पनि शुरु गर्ने तयारी गरेको छ ।

बिहीबार पर्यटन मन्त्रालयमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटन प्रबद्र्धनका लागि होमस्टेसँगै फार्मस्टे पनि सञ्चालन गरिने जानकारी दिए ।

‘होमस्टे पहिलेदेखि नै सञ्चालन भएको हो, अब पर्यटकलाई आकर्षित गर्नका लागि फार्मस्टे पनि सञ्चालन गर्ने तयारी भइरहेको छ, यसका लागि कृषि मन्त्रालयसँग समन्वय पनि भइरहेको छ,’ उनले भने ।

उनका अनुसार २/३ दिन बस्न मिल्ने गरी कृषि फार्मस्टेलगायतका फार्मस्टे प्रबद्र्धन गरिनेछ ।कोभिड–१९ का कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको अवस्थामा फार्मस्टे प्रबद्र्धन गर्न लागिएको उनले जानकारी दिए ।

उनका अनुसार आगामी वर्षमा ७ वटै प्रदेशमा एक÷एक पर्यटकीय गन्तव्य विकास गरिने र यसका लागि प्रदेश तथा स्थानीय तहको सहमतिमा विकास गरिने जानकारी दिए ।

उनका अनुसार आन्तरिक पर्यटनको विकास गर्नका लागि यसको आवश्यकता भएको समेत बताए ।

‘कोभिडका कारण विदेश पर्यटक आउन केही समय लाग्ला, तर अब हामीले आन्तरिक पर्यटन विस्तारका लागि काम गर्नुपर्छ र आन्तरिक पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न प्याकेज ल्याउनुपर्छ,’ उनले भने ।


क्लिकमान्डु