काठमाडौंमा कोरोना नियन्त्रण गर्न नाकामा सवारी साधनको डिस्इन्फेक्सन (भिडियोसहित)
काठमाडौं । उपत्यका भित्रने सवारी साधनबाट राजधानीमा कोरोनाको संक्रमण नहोस भन्दै थानकोटमा रहेको नागढुङ्गा नाकामा ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ ।
विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायात र चन्द्रागिरीको पहलमा उक्त टनेल तयार भएको हो । तीन दिन अघिदेखि सञ्चालनमा आएको टनेलमा भने आइतबार केही समयका लागि बन्द भएको थियो ।
टनेलमा प्रयोग गर्ने स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको क्लोरिनजस्तै झोल औषधी प्रयोगमा ल्याउन भन्दै केही समयको लागि बन्द भएको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष गोपी सुर्खेतीले बताए ।
उनका अनुसार त्यहाँ प्रयोग गर्ने औषधीको प्रमाणिकरणको विषयमा प्रश्न उठेपछि मन्त्रालयबाट प्रमाणित भएको औषधी ल्याउने क्रममा रहेको र केही समया नै सञ्चालनमा आउने बताए । उनका अनुसार उपत्यका भित्र्नै सबै सवारी साधनमा २४सैं घन्टा डिस्इन्फेक्सन टनेल प्रयोगमा आउने छ ।
उपत्यका भित्र्ने सबै सवारी साधानमा डिस्इन्फेक्सनको प्रयोग गर्न सकेको खण्डमा कोरोनाको संक्रमण केही हदसम्म कमी हुने उनको भनाई छ । यो टनेल न्यूनतम ३ महिना चल्ने उनले बताए ।
लकडाउनको अवधिमा पनि हाल दैनिक रुपमा एक हजार भन्दा बढी सवारी साधन उक्त नाकाबाट आवत जावत गर्ने गरेका छन् । हाल उपत्यकामा दैनिक उपभोगमा आउने तरकारी बोकेका, खाध्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स तथा केही मालबाहक सवारी साधन आवत जावत गर्ने गरेको अध्यक्ष सुर्खेतीको भनाइ छ ।
राख्नका लागि सोही कम्पनीले नै २ हजार लिटर क्षमताका २ र एक हजार लिटर क्षमताका दुई गरी कूल छ हजार लिटर क्षमताका ट्याङ्की राखिएको छ । हरेक दिन पानी र क्लोरिन झोल मिलाएर सवारी साधनलाई निःसङ्क्रमण गरिने छ । क्लोरिनका लागि मात्रै दैनिक एक हजार २ सय रुपैयाँ खर्च हुनेछ । उक्त औषधी मानव स्वास्थ्यका लागि हानी हुने छैन ।
कूल २० फिट लम्बाइ र १६ फिट उचाइको टनेल निर्माण गरिएको हो । यहाँ पाइपले दायाँ, बाँया र माथीबाट क्लोरिन झोल फाल्ने व्यवस्था रहेको छ । उक्त टनेल महानगरिय र नगरपालिकाले सञ्चालनमा ल्याउने छ ।
कोभिड-१९ को सङ्क्रमण रोक्न सरकारले लगाएको लकडाउनको समयमा पनि उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले उच्च सतर्कता अपनाउँने बताएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आवश्यक सुरक्षा व्यवस्थाका साथै रोगको सङ्क्रमण भित्रिन नदिन उत्तिकै तयारीका साथ लागेको बताए ।
प्रजिअ दाहाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालसहितको टोलीले उपत्यकाको विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै गाडीको आवतजावत, हालको सुरक्षा अवस्था र भावी दिनमा अपनाउनुपर्ने योजनाका बारेमा जानकारी लिए ।
‘अहिलेसम्मको लकडाउनको अवस्थाको मूल्याङ्कन गर्दै आगामी दिनमा उपत्यकामा हुनसक्ने सम्भावित जोखिम रोक्ने विषयमा नै हाम्रो ध्यान छ, त्यहीअनुसार आवश्यक सुरक्षा र सावधानी अपनाउन थालेका छौँ, नयाँ नयाँ स्वास्थ्य सुरक्षा रणनीतिसमेत बन्दै छ’, प्रजिअ दाहालले भने ।
नागढुङ्गा नाकामा भएको सवारी आवागमनको अवस्था र ३ दिन अघि स्थापना गरिएको डिसइन्फेक्सन टनेल र यसको प्रभावकारिताका बारेमा समेत उनीहरुले जानकारी लिए ।
काठमाडौँ उपत्यका प्रवेश गर्ने मुड्खु, जगाती, फर्पिङ र जर्सिङपौवा नाका मुख्य छ । नागढुङ्गामा जसरी अन्य नाकामा समेत टनेल राख्ने योजना बनाइएको छ । हुमाने र फर्पिङमा टनेल राख्ने तयारी गरिएको प्रजिअ दाहाले बताए ।
क्रमशः अन्य नाकामा पनि राख्दै जाने योजना रहेको उल्लेख गर्दै भने, ‘भारतबाट आउने मालबाहक सवारीमा विशेष निगरानी बढाउनुपर्ने अवस्था छ, अहिले सवारीलाई डिसइन्फेक्सन गर्ने काम थालिएको छ, यात्रुलाई समेत डिसइन्फेक्सन कसरी गर्न सकिन्न भन्नेमा सोच अघि बढाएका छौँ ।’
सडकमा राखिएको उक्त टनेलमा गाडी प्रवेश गरेपछि विभन्न ठाउँमा राखेको केमिकलयुक्त पानीको फोहराले गाडीलाई डिसइन्फेक्सन गराउँछ । यसले बाहिरबाट आएका सवारी साधनका किटाणुलाई रोक्ने दाबी छ ।
कार्यस्थलमा खटिएका सुरक्षाकर्मीले वर्तमान अवस्था र आइपरेका समस्याका बारेमा प्रजिअ दाहाललाई जानकारी गराएका थिए ।
राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिरहेको छ । राज्यको नीति निर्देशनलाई कार्यान्वयन गर्दै समस्याको सहजीकरण गर्ने तथा सवारीको जाँच र अभिलेखीकरणलाई दुरुस्त पार्न थालिएको उनले बताए ।
ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत उत्तिकै मात्रामा खटिएका छन् । उपत्यकामा विगतका दिनमा भन्दा अहिले सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही शुरु गरेको छ ।
बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेको छ । राहत वितरण र अत्यावश्यक सामान ओसारपसार बढेको, विभिन्न कार्यालय सञ्चालन हुन थालेको र उद्योग तथा आयोजना सञ्चालन हुने क्रम बढेकाले पनि यातायतको चाप बढेको प्रहरीले जनाएको छ ।