लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने
सौराहा । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् ।
‘लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन्,’ भट्टराईले भने ।
होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उनले जानकारी दिए ।
सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार जेठको पहिलो साताबाट भदौ अन्तिमसम्मको समय अरु बेलामा पनि पर्यटक नआउने समय हो । त्यसपछिको समयमा हिमाल चढ्नका लागि विदेशी पर्यटक आउने भए पनि यस वर्ष त्यो सम्भावना न्यून रहेको घिमिरेले बताए । उनका अनुसार दशैँताका आन्तरिक पर्यटक आउने भएकाले सोही समयमा होटल खोल्ने तयारी गरिएको छ ।
दुई/चार पाहुनाका लागि होटल खोल्दा सञ्चालन खर्च बढी हुने भएकाले त्यो सम्भावना नरहेको घिमिरे बताउँछन् । होटल व्यवसायीले चैत महिनासम्मको तलब दिएर कर्मचारीलाई बिदा दिएका छन् । अब के गर्ने भन्ने विषयमा केन्द्रीय हानको निर्णयको पर्खाइमा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
चितवन र नवलपरासीमा १५० पर्यटकीय होटल छन् । ती होटलमा ५ हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन् । भट्टराईका अनुसार ती होटलमा रु १९ अर्ब ५० करोडभन्दा बढी बैंकिङ ऋण रहेको छ ।
होटल खुलेको कम्तीमा एक वर्ष ऋणको किस्ता र ब्याज बुझाउन नसकिने भन्दै उनले पुनःकर्जा दिएर व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताए । भट्टराईले कृषिसरह ब्याजमा सहुलियत दिनुपर्ने माग अघि सारेको जानकारी दिए ।
यता मेघौलीको साराङ वाइल्ड लाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले भने लकडाउन खुलेपछि होटल सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । थोरै कर्मचारीबाट सेवासुविधा दिने गरी होटल खोल्ने तयारी आफूले गरेको उनले बताए ।
लकडाउनले घरमा बस्दा वाक्क भएका आन्तरिक पर्यटक आउने उनको अनुमान छ । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु, थारू संस्कृति, डुङ्गा शयरका लागि स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।