कोरोनाका कारण निगमलाई ६ अर्बको घाटा, ५ वटा विमान किन्न सरकारलाई पठायो प्रस्ताव



काठमाडौं । नेपाल वायुसेवा निगमले सरकारसँग आन्तरिक उडानका लागि ५ वटा विमान खरिद गर्नका लागि प्रस्ताव पठाएको छ ।

निगमका अध्यक्ष सुशिल घिमिरेका अनुसार आन्तरिक उडानका लागि ५ वटा विमान खरिद गर्नका लागि सरकारसमक्ष प्रस्ताव पठाइएको जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान ठप्प भएको र आगामी दिनमा आन्तरिक उडान बढाउनु पर्ने भएकाले ५ वटा विमान खरिद गर्न प्रस्ताव पठाइएको हो ।

‘अहिले ५ वटा विमान चाहियो भनेर प्रस्ताव पठाएका छौं, सरकारले बजेट निर्माणमा यसलाई पनि समावेश गर्नेछ भन्ने आशा लिएका छौं,’ घिमिरेले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार हालसम्म कुन विमान खरिद गर्ने भन्ने यकिन भइसकेको छैन । साथै कति सिट क्षमताका कुन विमान खरिद गर्ने भन्ने विषय अध्ययनपछि मात्रै थाहा हुनेछ ।

‘तत्कालका लागि बजेटका विनियोजनका लागि प्रस्ताव पठाइएको हो, बजेट विनियोजन भयो भने कुन विमान खरिद गर्ने भन्ने अध्ययनपछि थाहा हुन्छ,’ उनले भने ।

उनका अनुसार तत्कालका लागि ती विमान खरिद गर्नका लागि ५ देखि ६ अर्ब रुपैयाँ सरकारले विनियोजन गर्न हुन सक्ने उनले बताए ।

अहिले निगमसँग आन्तरिक उडानका लागि ४ वटा ट्विनेटर, २ वटा  एमए ६० र ४ वटा  वाई-१२ विमान छन् । जसमध्ये हाल ५ वटाले मात्रै उडान भर्न योग्य छन् भने बाँकी ग्राउन्डेड छन् । साथै केही दिनअघि नेपालगञ्जमा दुर्घटना भएको विमान पनि चल्न सक्ने अवस्थामा छैन ।

निगमका अनुसार हाल उक्त विमान नेपालगञ्ज मै छ र बीमाबाट त्यसको भरपाइका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

कोरोनाका कारण ६ अर्ब घाटा
घिमिरेका अनुसार कोरोना भाइरसका कारण निगमलाई हालसम्म ६ अर्ब रुपैयाँको घाटा भइसकेको छ । उनका अनुसार यसका लागि पनि सरकारले राहत दिनुपर्ने बताए ।

‘कोरोनाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प छन्, एकाध चार्टर्ड बाहेक उडान हुन सकेका छैनन्, जसका कारण निगमलाई हालसम्म ६ अर्ब रुपैयाँभन्दा बढी घाटा भएको आँकलन गरिएको छ,’ उनले भने ।

विगतका वर्षमा नेपालमा उडान भर्ने ३२ वटा विमान कम्पनीमध्ये निगमले अन्तर्राष्ट्रिय उडानमार्फत् सबैभन्दा धेरै यात्रु बोकेको थियो । तर अहिले उडान ठप्प भएको र यसले दीर्घकालीन रुपमा असर पार्ने देखिएको अब आन्तरिक उडानतर्फ जोड दिनुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु