बोर्ड अध्यक्ष ढुंगानाको अर्थमन्त्रीसँग गुनासोः भवन नहुँदा काम गर्न समस्या भयो



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अर्थमन्त्री डा. युवराज खतिवडाकै सामुन्ने धितोपत्र बोर्डको आफ्नै भवन नभएका कारण काम गर्न समस्या भएको बताएका हुन् ।

चार सयभन्दाबढी बैंक तथा वित्तीय संस्थाको अनुमगन तथा नियमन गर्ने नियामक निकायको आफ्नो भवन नहुँदा काम गर्न समस्या भएको बताएका हुन ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) आयोजना गरेको वेवनारमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘२५ वर्षसम्म पनि धितोपत्र बोर्डको आफ्नै भवन छैन । हामी अहिले भाडामा छौं । हामीलाई चाँडै नै भवन आवश्यक छ ।’

उक्त वेवनारमा अर्थमन्त्री डा. खतिवडा पनि सहभागी भएका थिए ।

उनले छलफलमा अहिले नेपाल स्टक एक्सचेन्जले ल्याएको अनलाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको नहुँदा लकडाउनको बेलामा सेयर काराबोर गर्न समस्या भएको जानकारी गराए ।

अनलाइन पूर्ण भइदिएको भए सेयर बजार खोल्दा कुनै असर पर्ने उनको भनाइ छ । अहिलेको अवस्थामा नै सेयर कारोबार खोल्दा भने धेरै प्रभावकारी नहुने हो कि भन्ने देखिएको उल्लेख गरे । यो बेला सेयर बजार खोल्दा लगानीकर्तामा विश्वास जोगाउने नसकिने हो कि भन्ने चिन्ता रहेको पनि बताए ।

उनले भने, ‘अनलाइन अन्तर्राष्ट्रिय स्तरको भएन । अनलाइनबाट कारोबार गर्दा सेयर ट्रान्सफर गर्न ब्रोकरमा जानुपर्ने छ । इडिआईएसमा समस्या छ ।’

उनले बैंक एकाउन्टसँग इन्ट्रिग्रेसन गर्ने र अनलाइनबाट नै सेयर ट्रान्सफर गर्ने खालको अनलाइन आवश्यक भएको बताए ।

अहिले कोरोनाले कारोबार गर्न कम्पनीको नाफा र आरओइले सेयर मूल्यमा फरक पार्ने बताए । बैंक तथा वित्तीय संस्थाको नाफा र आरओइमा असर नपरेको खण्डमा सेयर बजार सन्तोषजनक अवस्थामा अघि बढने तर्क गरे ।

उनले सेयर बजार खुलेपछि कमोडिटी मार्केटलाई इजाजत दिने तयारी भइरहेको पनि जानकारी गराए । अहिले कमोडिटीका लागि ६ वटा आवेदन परेको अध्यक्ष ढुंगानाको भनाइ छ ।

यो बेला सरकारले विशिष्टिकृत लगानीमा ध्यान दिनुपर्ने उनको तर्क छ । इन्भेष्टमेन्ट फण्डलाई आकर्षित गर्न सकेको खण्डमा बजार प्रभावकारी हुने उनको तर्क छ ।

अध्यक्ष ढुंगानाले सरकारको ऋणपत्र सूचिकृत गरेर दोस्रो बजारका कारोबार गर्न आवश्यक भएको पनि उल्लेख गरे । अहिले बोर्डको ओपन इन म्यूचुअल फण्ड ल्याउने योजना रहेको बताए ।

अहिलेको अवस्थामा बिहान किनेर बेलुका बेच्न, बेलुका किनेर भोलिपल्ट बेच्न सकिने खालको सेयर बजार विकास गर्न सकेको खण्डमा राजस्व पनि बढी उनले बताए । यसले बजारको पनि विकास हुने उनको भनाइ छ ।


क्लिकमान्डु