कोरोनापछी नेपाल-भारतको पर्यटन क्षेत्रलाई नयाँ गति दिइने



काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भारतका पर्यटन संघ–संस्थाका प्रमुसखहरुसँग नेपाल-भारत पर्यटनलाई कोरोना संकट पछि नयाँ गति दिने विषयमा अनलाइन छलफल गरेका छन् ।

छलफलमा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले बोर्डले वर्तमान संकटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा, नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्भेक्षण गरिरहेको जानकारी गराए ।

सरकारले पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमी, नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेशनको ब्यवस्था, भारतीय बजार लक्षित हिलस्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकिय गन्तब्यको विकासका साथै ती स्थानहरुमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलहरुका बारेमा जानकारी गराए ।

छलफल कोरोना पछिका दिनमा भारतीय पर्यटकहरुको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वासका लागि गरिनुपर्ने विविध अभियानका बारेमा बढी केन्द्रित थियो । सबै सहभागी भारतीय पर्यटनका शीर्ष ब्यक्तिहरुले संकट पश्चात भारतीय पर्यटकहरु भ्रमणमा सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुने जानकारी गराए ।

अहिलेसम्म नेपालका कोरोनाको कारण कसैले ज्यान गुमाउन नपरेको भन्दै आगामी दिनमा भारतीय बजारहरुमा छुट्टै स्थान बनाउने र नेपालप्रतिको विश्वास अझ बढाउने छलफलमा सहभागीहरुले बताए ।

छलफलका क्रममा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकता औंल्यायो ।

नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन् गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तिब्रता दिन सहभागीहरुले विशेष अनुरोध गरेका छन् । बजारिकरण र प्रबद्र्धनका कार्यमा नेपाली र भारतीय समकक्षीहरुको संयुक्त प्रयास गराउन भारतीय पर्यटन संघ-संस्थाहरुले आफ्नो सदस्यहरुलाई सकृय गराउने विषय छलफल भएको छ ।

नेपाल-भारत पर्यटन टास्कफोर्स समिति बनाउन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले गरेको प्रस्तावलाई आगामी दिनका छलफलले टुङ्गाउने सहमति भएको बताए । बोर्डले आगामी दिनमा भारतीय समकक्षीहरुसँगको छलफललाई तिब्रता दिने र यस किसिमको गन्तब्य वेभिनार संयुक्त रुपमा आयोजना गर्दैजाने निर्णय भएको छ ।

छलफलमा भारतीय ट्राभल एजेण्टस एसोसियनका अध्यक्ष ज्योति मयल, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एसोसिएसनका अध्यक्षन पिपि खन्ना, भारतीय एड्भेन्चर टुर अपरेटर एसोसिएसनका अध्यक्ष क्याप्टेन स्वदेश कुमार भारतीय ट्राभल एजेण्टस फेडेरेसनका अध्यक्ष प्रदिप लुल्ला र भारतीय आउटबाउण्ड टुर अपरेटर्स एसोसिएसनका अध्यक्ष महेन्द्र भखारिया र भारतीय ट्राभलका सञित जैन सहभागी भएका थिए ।


क्लिकमान्डु