भूमि बैंक कार्यान्यवनमा ल्याउने प्रधानमन्त्रीको घोषणा, भने- जग्गा, कर्जा र सीप पनि दिन्छौं



काठमाडौं । सरकारले भूमि बैंक कार्यान्यवनमा ल्याएर जनतालाई सीप सिकाइ जग्गा र कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको अवसरमा सम्बोधन गर्दै सो घोषणा गरेका हुन् ।

उनले कोभिड–१९ को असर अर्थतन्त्रमा परेको उल्लेख गर्दै स्वादेश तथा विदेशबाट रोजगार गुमेका श्रमिकहरुलाई सीप सिकाइ सरकारले सहुलियतमा भूमि बैंकमार्फत जग्गा र कर्जा उपलब्ध गराउने बताए ।

‘हाम्रा श्रमिकहरुमा रहेको सीपको खाडलका कारण हुनसक्ने श्रमिकहरुको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र श्रम तथा सीप तालीमसम्बन्धी सबै निकायका कार्यक्रमहरुलाई एकीकृत रुपमा परिचालन गरिने छ,’ प्रधानमन्त्री आलीले भने, ‘जमिन नहुने श्रमिकहरुका लागि भूमि बैंकलाई कार्यान्वयनमा ल्याई त्यसैको माध्यमद्वारा भूमिको व्यवस्था गरिने छ ।’

सीपको अन्तरलाई सम्याउन आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालिम शिविरसमेत सञ्चालनमा ल्याइने उनले बताए । साथै बैंकहरुबाट सुलभ कर्जाको बन्दोबस्त गर्ने र सरकारद्वारा सीप तालीमको प्रत्याभूति गरी समन्वयात्मक ढंगबाट कामलाई अघि बढाइने उनले प्रतिवद्धता गरेका छन् ।

दीगो विकासका लागि सरकारले कृषिको आधुनिकीकरण र व्यवासायीकरणमार्फत उत्पादन र रोजगारी बृद्धि गर्ने योजना रहेको उनले बताए ।


क्लिकमान्डु