होटल क्षेत्रमा मासिक १ अर्ब ८० करोड घाटा छ, कमर्चारीलाई पूरै तलब दिन सक्दैनौंः सिर्जना राणा



काठमाडौं । कोभिड-१९ को महामारीका कारण नेपालको होटल क्षेत्रमा मासिक १ अर्ब ८० करोड रुपैयाँ घाटा भइरहेको होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताएकी छन् ।

‘कोरोना महामारीका कारण सबै क्षेत्रमा असर परिरहेको छ, त्यसमध्ये सबैभन्दा बढी प्रभावितमध्येको एक होटल क्षेत्रमा मासिs १ अर्ब ८० करोड घाटा भइरहेको छ,’ उनले भनिन् ।

उनले होटल क्षेत्रमा भएको घाटालगायतको सम्पूर्ण विवरण पर्यटन बोर्डलगायत सम्बन्धित सबै क्षेत्रमा लिखित रुपमा उपलब्ध गराएको माग गर्दै सरकारले विशेष राहत ल्याउनुपर्ने बताइन् ।

‘हामी सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारीमा थियौ, यसका लागि ठूलो लगानी पनि भएको थियो तर अहिले कोरोनाको कारणले आम्दानी ठप्प भएको छ,’ उनले भनिन् ।

उनका अनुसार सरकारले विशेष राहत प्याकेज ल्याउँदै होटल क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई सम्बोधन गर्नुपर्ने बताइन् । उनले अहिले ठूला होटलमा लगानी भएको उल्लेख गर्दै किस्ता तिर्न समेत नसकेको र पुरानो होटलमा कर्मचारीलाई तलब दिन नै गाह्रो भएको बताइन् ।

त्यसैले कर्मचारीको हकमा सरकार, कर्मचारी र रोजगारदाता कम्पनी मिलेर उद्योग बचाउनका लागि जानु पर्ने उनको भनाइ छ ।

‘लकडाउनपछि श्रमिकहरुले एक महिनाको पूरै तलब पाइसकेका छन्, तर अब एक रुपैयाँ पनि आम्दानी भएको छैन त्यसैले तीन वटै पक्ष मिलेर निकास दिनुपर्छ, यस्तो अवस्थामा कर्मचारीले पनि साथ दिनुपर्छ,’ उनले भनिन् ।

उनका अनुसार होटल क्षेत्रमा ६ महिनाको सर्भिस शुल्क मौज्दात रहेकाले त्यसैबाट कर्मचारीलाई तलब दिन सकिने बताइन् ।

‘अहिले हामीसँग ६ महिनाको सर्भिस शुल्क बाँकी छ, त्यो भनेको मासिक झण्डै ८ हजार रुपैयाँ र तलबमा १२.५० प्रतिशत दिन सक्छौं भन्ने आधारमा सरकारले तोकेको बेसिक तलब दिन सक्छौं, त्यसबाहेक सक्दैनौं, तर मजदुरहरुले शतप्रतिशत चाहिन्छ भन्नु भएको छ । उहाँहरुले पनि यो समयमा कुरा बुझ्नुपर्छ,’ उनले भनिन् ।

उनले संघको उद्देश्य र मनसाय कर्मचारीलाई पैसा नदिने नभएको भन्दै कोरोना भाइरससँग लड्नका लागि कर्मचारीहरुले पनि साथ दिनुपर्ने जिकिर गरिन् ।

सरकारले पनि होटल क्षेत्रका लागि विशेष नीति ल्याउन सुझाव समेत दिइन् ।


क्लिकमान्डु