ललितपुरमा अब जग्गा बाँझो राख्न नपाइने



काठमाडौं । ललितपुरभित्र अब जग्गा बाँझो राख्न नपाइने भएको छ । कोरोना भाइरसका कारण भावी दिनमा हुनसक्ने खाद्य संकटको जोखिमलाई कम गर्न ललितपुर महानगरपालिकाले जग्गा बाँझो राख्न नपाउने व्यवस्था गर्न लागेको हो ।

‘महानगरभि खेती किसानी ह्रासीकरण हुँदै गएको छ, महानगरभित्र कतिपय जग्गाहरु टुक्रा पारेर बाँझो राखिएका छन्, खेती गरिएका छैनन्,’ मेयर महर्जनले क्लिकमाण्डूसँग भने, ‘निकट भविष्यमै महानगरभित्र जग्गा बाँझो राख्न नपाउने नीति कार्यान्वयन गर्छौं ।’

मेयर महर्जनका अनुसार बाँझो रहेको जग्गा वडाको सिफारिसमा छिमेकी वा इच्छुकले तरकारी तथा फलफूल रोपेर खान पाउने छन् । यसरी बाँझो जग्गामा खेती गरेर उब्जाएको बालीनाली सम्बन्धित जग्गाधनीलाई दिनुपर्ने छैन ।

तर, खेतीका लागि बाँझो जग्गा उपयोग गर्दा उक्त जग्गाको सेफ भने विगार्न पाइने छैन ।

महानगरभित्र हजारौं बाँझो जग्गाहरु रहेको र यो नीतिले महानगरभित्र कृषि उत्पादकत्व बढाउने महर्जनको विश्वास छ ।

‘कौसी खेतीलाई पनि प्रोत्साहन गर्ने नीति बनाउँदै छौं,’ उनले भने ।

महनगरले खेती किसानी गर्नेहरुलाई प्रोत्साहन गर्ने नीति ल्याउने उनले जानकारी दिए ।

‘कृषिमा लाग्नेलाई हामी विशेष प्रोत्साहन गर्छौं,’ उनले भने ।

कोरोनाले अर्थतन्त्रम नराम्रो असर पारेको महर्जनको ठहर छ । कृषि र साना उद्योगलाई प्रोत्साहन गर्न सकेको खण्डमा भावी दिनमा देशको अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ ।

‘वैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरु फर्किँदैछन्, देशभित्रै भएका लाखौं कामदारले रोजगारी गुमाउने खतरा छ, उनीहरुलाई कृषि वा साना व्यवसायमा लगाएर इन्गेज गर्न सकिएन भने राज्यले ठूलो मूल्य चुकाउनु पर्छ,’ मेयर महर्जनले भने ।


पुष्प दुलाल