पर्यटन बोर्डले फोटो प्रतियोगिता आयोजना गर्ने



काठमाडौं । नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यले उक्त प्रतियोगिता गरेको जनाएको छ ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिने व्यवस्था गरेको छ ।

सहभागीहरुले आगामी जेष्ठ १८ सम्म फोटोहरु पठाइसक्नुपर्नेछ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीहरुले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले फोटो प्रतियोगिताले नेपालको कुनाकाप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटो मार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अघि बढाउने बताए ।

बोर्डले चार वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो ।

बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी ४ वर्षदेखि निरन्तर रुपमा भइरहेको छ । यस अभियानलाई अझ ब्यापक बनाउन फोटोनेपाल डट ट्राभल सुरु गरिएको हो ।

हाल यसमा २ हजार बढी सदस्यहरुका २० हजार फोटोहरु संग्रहित छन् । इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिष्टर हुन सक्ने र प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।


क्लिकमान्डु