बोर्डका अध्यक्ष ढुंगानाको दाबीः लकडाउनपछि यसकारणले बढ्छ सेयर बजार



काठमाडौं । कोरोना भाइरसको कारण बन्द रहेको सेयर बजार खुलेपछि बजार बढ्छ वा घट्छ भन्ने विषयमा लगानीकर्तामा निकै आँकलन शुरु भएको छ ।

बजारको अवस्था के होला ? भनेर लगानीकर्तामा चिन्ता रहेको समयमा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले लकडाउन खुलेपछि बजार बढ्ने विभिन्न कारण पेश गरेका छन् ।

उनले बजार खुलेपछि लगानी गर्नको लागि उपयुक्त स्थान सेयर बजार भएकाले बजार बढ्न सहयोग पुग्ने बताए ।

विश्वको परिवेशमा हेर्दा लकडाउन खुकुलो भएपछि सञ्चालनमा आएको बजारमा अधिकांश देशमा बढेको छ । अफ्रिका, साउथ इष्ट र यूरोपमा बजार विकास हुन नसके पनि अन्य देशको सेयर बजारमा सुधार भएको छ । बाँकी देशमा खुलेको बजार बढ्न थालेको उनको भनाइ छ ।

नेपालमा पनि लकडाउन खुलेपछि बजार खुल्ने र त्योबेला लगानीकर्ताको मनोबल पनि बढ्ने ढुंगानाको तर्क छ ।

उनका अनुसार सेयर बजारमा कारोबारमध्ये ८५ प्रतिशत सेयरमा खासै असर नपर्ने देखिन्छ । ५३ प्रतिशत बैंक तथा वित्तीय संस्था रहेको र ५ देखि ७ प्रतिशतको हाराहारीमा बीमा कम्पनीहरुको र बाँकी डेभलपमेन्ट बैंक, माइक्रोफाइनान्स रहेको भन्दै त्यसमा कुनै असर नदेखिने ढुंगानाको तर्क छ ।

कोरोनाले यी क्षेत्र नोक्सानमा नजाने र नोक्सानमा नगएपछि बजार घटनुपर्ने कुनै कारण नभएको उनले बताए । अहिले बजार १६३१ अंकबाट १२५१ मा बजार घटेको छ ।

‘यसअघि नै हाम्रो इन्डेक्स २३ प्रतिशतले घटेको छ । अन्य देशमा पनि ३० देखि ३५ प्रतिशत घटेको छ । नेपालको सन्दर्भमा १÷२ प्रतिशत तलमाथि हुनसक्छ । त्योभन्दा धेरै तलमाथि हुँदैन,’ उनले भने ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख अन्तिम आइतबारबाट सेयर बजार खोल्ने तयारीमा रहेको जनाएको छ । वैशाख २५ गतेसम्म सरकारले नै लकडाउन गरेको, २६ गते शुक्राबार परेको कारण आइतबारबाट बजार खोल्नका लागि नेप्सेले सरोकारवाला सबैलाई तयारीमा रहन पनि आग्रह गरेको छ ।

नेप्सेको तयारी अनुसार नै वैशाख अन्तिम आइतबारबाट बजार बढेको खण्डमा बजामा सुधार आउने बोर्डको तर्क छ ।


क्लिकमान्डु