राष्ट्र बैंकले ऋणको ब्याजदर स्थीर बनायो, ६ महिना बढाउन नपाइने, घटाउन भने पाइने
काठमाडौं । कोरोना र लकडाउनका कारण समस्याम परेका ऋणीहरुलाई राहत दिँदै राष्ट्र बैंकले ब्याजदर स्थीर राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
मंगलबार सर्कुलर जारी गर्दै राष्ट्र बैंकले कर्जाको ब्याजदर तोकेर प्रकाशित गर्नुपर्ने र उक्त प्रकाशित ब्याजदर ६ महिना बढाउन नपाइने व्यवस्था गरेको हो । तर, कुनै बैंकले ६ महिनाअघि नै प्रकाशित ब्याजदर र प्रिमियम घटाउन भने सक्नेछन् ।
राष्ट्र बैंकले कर्जाको प्रकृति अनुसार परिवर्तन नहुने गरी निश्चित समय र ब्याजदर निर्धारण गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार बैंकहरुले कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछुट्टै प्रिमियमदर तय गर्नु पर्नेछ । तयगरिएको प्रिमियमदर र ब्याजदर बैंकहरुले त्रैमासिक रुपमा प्रकाशन गर्नु पर्नेछ । यसरी ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा निश्चित प्रकारको आवधिक कर्जाका लागि तोकिएको अवधिभर ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गरी सो समेत प्रकाशन गर्नु पर्नेछ ।
बैंकहरुले ब्याजदर प्रकाशन गर्दा कर्जाको शिर्षक अनुसार प्रिमियमदर तोक्नुपर्ने छ । यदि बैंकहरुले प्रिमियमदर बढाउनु परेमा अर्धवार्षि रुपमा मात्र परिवर्तन गर्न पाउनेछन् । तोकिएको समयअघि पनि ब्याजदर घटाउन भने पाउने छन् ।