कोका-कोलाले कोरोना प्रभावित समूदायलाई ८ करोड रुपैयाँ सहयोग गर्ने



काठमाडौं । कोभिड-१९ महामारीको फैलावट र प्रभावविरुद्ध लड्न कोका-कोलाले नेपालमा ८ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने बाचा गरेको छ ।

कोका-कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले यस अभूतपूर्व समयमा देशभर १ लाखभन्दा बढी जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य रहेको बताएको छ ।

देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समूदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ ।

यसको साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समूदायलाई खाद्यान्न राहत सामग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ ।

यी पहलहरु-  पर्टनर, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरिएको कम्पनीको भनाइ छ ।

कोका-कोलाले नेपालमा समूदायलाई कोभिड—१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ पार्टनर क्रियशनसँग साझेदारी गरेको छ ।

कोका-कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका छन् ।

‘ग्लोबल कोभिड-१९ महामारीले हामी सबैका लागि अत्यन्तै चुनौतिपूर्ण समय निमत्याएको छ । यो अशान्तिको बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं,’ कम्पनीका अपरेसन भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने ।

उनका अनुसार महामारी मार्गनिर्देशन कम्पनीको उद्देश्यमा आधारित रहेको र यसले विश्वभरका समूदाय र मानिसमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गरेको छ ।


क्लिकमान्डु