काष्ठमण्डप खाद्य उद्योगले भन्यो- गल्ती हाम्रो हो भाटभटेनीले बढी मूल्य लिएको होइन
काठमाडौं । उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गरेको आरोपमा आपूर्ती तथा उपभोक्ता विभागले भाटभटेनीलाई ३ लाख रुपैयाँ जरिवाना तिराएको विषयमा काष्ठमण्डप खाद्य उद्योगले गल्ती भाटभटेनीको नभइ आफ्नो भएको दाबी गरेको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै काष्ठमण्डपले भनेको छ, ‘हाम्रा कर्मचारीले २५० र ५०० ग्राम तौलका प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिएकाले सोही वस्तु अनुगमनका क्रममा विभागले कारबाही गरेको हो, त्यसमा भाटभटेनीको सुपरमार्केटको गल्ती छैन ।’
काठमाडौं महानगरपालिका वडा नम्बर १२, टेकुमा रहेको यस काष्ठमण्डप खाद्य उद्योगले भाटभटेनी सुपरमार्केटलाई विगत १० वर्षदेखि नेवार समूदायका खानेकुराहरु लाखमरी, तिलको लड्डु, ऐंठे, रोट, पञ्जाफी, अनरसालगायत सप्लाइ गर्दे आएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘यस्तो बारकोड र मूल्यको स्टिकर टाँस्ने कार्य मूलतः भाटभटेनी आफैंले गर्ने गरे पनि यसपटक लकडाउनको प्रतिकूल अवस्थामा उक्त बारकोडको स्टिकर टाँस्ने जिम्मा हामीलाई दिएको थियो । लकडाउनका कारण हाम्रा अधिकांश कर्मचारी काममा आउन नसकेको र सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका हाम्रा कर्मचारीले गरेका थिए ।’
काष्ठमण्ठपले आफ्नो कमजोरीका कारण मुलुककै प्रतिष्ठित व्यापारिक घरानाद्वारा सञ्चालित भाटभटेनी सुपरमार्केट कारवाहीमा परेकोमा हामीलाई दुःख लागेको छ । २५० ग्रामको र ५०० ग्रामको लाखामरीमा फरकफरक मूल्यको बारकोड स्टिकर टाँस्नुपर्नेमा एउटै स्टिकर टाँसिएको व्यहोरा अनुगमनमा संलग्न अधिकारीहरुले पनि प्रत्यक्ष देखेको उल्लेख गरेको छ ।