देशभर २० हजार १९५ जना क्वारेन्टाइनमा, ३०४ जना रेड जोनमा, साढे ४३ हजारको परीक्षण



काठमाडौं । सरकारले देशभर २० हजार १ सय ९५ जनालाई क्वारेन्टाइनमा राखेको छ । अहिलेसम्म ४३ हजार ६ सय जनाभन्दा बढीको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

अहिले देशभरका १६ वटा अस्पतालबाट कोरोनाको परीक्षण भइरहेको छ । प्रवक्ता डा. देवकोटाका अनुसार थप ८ जना रेड जोनमा परेका छन् । रेड जोनमा पर्नु भनेको संभावित जोखिमको खतरा भएको आशंका हो ।

‘नयाँ ८ जनालाई रेड जोनमा राखेका छौं,’ उनले भने, ‘रेड जोनमा कुल ३०४ जनालाई राखिएको छ ।’

अहिलेसम्म कुल ५२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको र जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएको र ३६ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको डा. देवकोटाले जानकारी दिए ।

‘उपचार भइरहेका संक्रमितहरुको अवस्था पनि नराम्रो छैन,’ उनले भने ।

आइसोलेशनमा १०६ जना रहेको र जसमध्ये काठमाडौं उपत्यकामा ८ जना र मोफसलमा ९८ रहेको देवकोटाले जानकारी दिए ।


पुष्प दुलाल