इरानमा सपिङ महल र बजार खोल्ने निर्णय, ब्यवसायिक चहलपहल शुरु



कोरोना महामारीले विश्वभर आतंक मच्चाइरहेका बेला इरानमा भने सपिङ मल र बजार पुन सुचारु भएका छन् । महामारी दोस्रो चरणमा जान सक्ने स्वास्थ्य अधिकारीहरुको चेतावनीकाबीच सरकारले ब्यवसाय पुन सुचारु गर्ने निर्णय गरेको छ ।

सर्र्वसाधारण जनताको स्वास्थ्य र अर्थतन्त्रको संरक्षणका लागि सरकारले लकडाउनलाई खुकुलो बनाएको छ । तर स्कुल, विश्वविद्यालय बन्द हुने अवधि बढाइएको छ भने सांस्कृतिक, धार्मिक र खेलकुद जमघटमा भने बन्देज कायम राखेको छ ।

सोमबारदेखि लागू हुने गरी राष्ट्रपति हसान रौहानीको सरकारले शहरभित्रको यात्रा खुलाउनुका साथै बन्द रहेका व्यवसायलाई खुलाउने निर्णय गरेको छ । उक्त निर्णयबाट देशभर कोरोना संक्रमणको मध्यम जोखिम हुने बताइएको छ ।

उक्त निषेध हटेसँग राजधानी तेहरान र अन्य शहरमा मानिसको चहलपहल शुरु भएको छ ।

सरकारको उक्त निर्णयपछि शुरु भएको चहलपहललाई कतिपय स्वास्थ्य विज्ञहरुले आलोचना गरेका छन् ।

तेहरानस्थित एक अस्पतालका डाक्टरले सरकारको निर्णय र जनताले कोरोना महामारीलाई गम्भिरताका साथ नलिनेमा आफू चिन्तित रहेको बताएका छन् ।

त्यसैगरी स्वास्थ्यमन्त्रीका सल्लाहकार मोहम्मद असईले सबैकुरा जनताले स्वास्थ्यप्रति देखाउने चासोमा भर पर्ने र जनताले कोरोना महामारी सामान्य अवस्थामा आएको नबुझिदिन आग्रह गरेका छन् ।


क्लिकमान्डु