खाडीमा नेपाली अलपत्र पर्दा एनआरएनएलाई चिन्ता, नेपाल फर्काउन बन्दैछ योजना



काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन गैर आबासीय नेपाली संघले (एनआरएनए)ले पहल थाल्ने भएको छ ।

खाडीमा काम गरिरहेका नेपालीहरु बिचिल्लीमा परेको भन्दै संघले उनीहरुलाई नेपाल फर्काउने योजना बनाइ रहेको बताइएको छ । संघको ‘कोभिड–१९’ उच्चस्तरीय समितिको बैठकमा संघका अभियन्ताहरुले बिद्यार्थी, श्रमिक तथा बिबिध कारणले अबैधानिक रुपमा बस्दै आएका नेपालीहरुको अबस्थाबारे चिन्ता समेत जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्यसम्म गैर आबासीय नेपालीहरुलाई यथास्थानमा रहन अनुरोध गरिरहेका बेला एनआरएनएको समितिको बैठक भित्र उक्त बिषयमा गहन छलफल भएको हो ।

बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले कोरोनापछि दुईवटा क्षेत्रमा केन्द्रित रहेर काम सुरु गरिएको बैठकलाई जानकारी गराए । उनले भने ‘नेपालको सन्दर्भमा पहिलो चरणको स्वास्थ्य सामग्री हस्तान्तर भइसकेको र दोस्रो चरणका सामान सोमबारसम्म हस्तान्तरण गरिने छ । नेपाल सरकारले थप स्वास्थ्य सामग्री आवश्यक ठाने गैरआवासीय नेपाली संघका शाखाहरु दिन तयार छन ।’

पन्तले तीन चरणमा रहत वितरण भइरहेको बैठकलाई जानकारी गराए । उनले भने, ‘पहिलो चरणमा जनचेतना, राहत, दीर्घकालीन नीति निर्माणको काम भइरहेको छ । विदेशबाट फर्कन चाहनेको संख्या हजारौं छ । कुवेतमा ३ हजारभन्दा बढी कागजी प्रकृया पूरा नगरेका नेपालीको संख्या छ । कयौं नेपालीलाई स्थानीय सरकारले सहयोग नगरेपछि नेपाली विभिन्न देशमा अलपत्र परेकालाई नेपाल फर्काउने बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवारीसँग छलफल भइरहेको र परराष्ट्रमन्त्री यस विषयमा सकरात्मक छन ।’

बैठकमा पूर्व शिक्षामन्त्री गंगाधर तुलाधारले मुलुक भोलि संकटमा जान सक्ने औंल्याए । ‘विदेशमा रहेका नेपालीलाई अहिलेको चिन्ता पनि त्यही नेपालप्रति छ, मातृभूमिमा पर्न लागेको संकटमा गैरआवासीय नेपालीले खेलेको भूमिकाको सरहना गर्न चाहन्छु, पूर्वमन्त्री तुलाधरले भने, ‘यस्ता महामारीले भविष्यका लागि पाठ सक्ने अवसर हो । यसले स्वास्थ्य क्षेत्रमा जोखिम न्युनीकरण गर्न सहयोग पुग्छ । स्वास्थ्य क्षेत्रमा अहिले प्रयोग भइरहेका नयाँ अनुभवले आगामी पुस्ताको लागि उपयोगी हुनेछ ।’

संघका उपाध्यक्ष डा बद्री केसीले पहिलो चरणमा ४ हजार टेस्ट किट नेपालमा हस्तान्तरण भइसकेको र बाँकी सामान चीनमा भन्सारसम्बन्धी नियम परिवर्तन हुँदा खरिद गरेको सामान आउन ढिलाइ भएको बताए । उनले विदेशमा अलपत्र नेपालीको सहयोगका लागि बैदेशिक सामाजिक कोषमा रहेको रकम परिचालन गर्न सरकारसँग छलफल भइरहेको जानकारी दिए । डा. देवी बस्नेतले दक्षिण कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनको लागि पहल गर्न आग्रह गरे ।


क्लिकमान्डु