उपत्यकाका २ लाख बढी परिवारलाई राहत वितरण, सवारी प्रवेशमा सेनिटाइजर अनिवार्य
काठमाडौँ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाले लकडाउन अवधिभर २ लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेका छन् ।
राहतको अभावमा दैनिक सयौँ नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेपछि दुई लाख ११ हजार बढी परिवारलाई राहत उपलब्ध गराएको हो । उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप–प्रमुखहरु संलग्न नगरपालिका फोरमलेले केही दिन अघि मात्रै राहतको अभावमा उपत्यका नछाड्न उपत्यकावासीलाई आग्रह गर्दै संयुक्त अपिल गरेको थियो ।
फोरमको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा संयुक्त भूमिका खेल्ने निर्णय गरेको छ । ‘लकडाउन अहिले पनि जारी छ । यस्तो बेलामा एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्वाध रुपमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ,’ नगरपालिका फोरमका अध्यक्ष समेत रहेका भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘हामीले उपत्यकामा रहेका अतिविपन्न, असाहय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर लकडाउन अवधिभर भोकै पर्नु नपरोस भनेर संयुक्त पहल गरिरहेका छौँ ।’
शाक्यले कोरोना रोगको महामारीसँग लडिरहेका उपत्यकावासीलाई भोक–भोकै पर्न नदिने पनि प्रतिवद्धता व्यक्त गरे । ‘उपत्यका नगरपालिका फोरमको बैठकले कोरोना विरुद्धको लडाईँमा उपत्यकाका सबै नगरपालिका एक जुट हुने निर्णय गरेको छ,’ उनले भने, ‘हामी जनप्रतिनिधि एकजुट भएर लागि रहेका छौँ । कोही भोकै परेको जानकारी सञ्चारमाध्ययमका साथीहरुले देख्नुभयो भने उपत्यकाका जनप्रतिनिधि वा टोल फ्री न. ११८० र ११३१ मा जानकारी दिनुहोला हामी समाधान गर्न तयार छौँ ।’
प्रमुख शाक्यले लकडाउनपछि अतिविपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई अहिलेसम्म काठमाडौं महानगरबाट मात्रै ५० हजारलाई बढीलाई राहत र पाँच हजार बढी प्लेट खाना खुवाउने काम भएको पनि जानकारी दिए । महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निशुल्क एम्बुलेन्सबाट १ सय ५० बढी डाइलोसिस गर्नुपर्नेलगायतका विराममीलाई अस्पताल लैजाने–ल्याउने काम भएको पनि उनले जानकारी दिए ।
मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले उपत्यकाका १८ मध्ये १४ पालिकाका प्रमुख उपस्थिति रहेको बैठकमा अहिले उपत्यकाकै भन्दा पनि विभिन्न जिल्लाबाट उपत्यकालाई ट्रान्जिट बनाएका कारण अलिक बढी समस्या देखिएको हुनसक्ने विषयमा पनि छलफल भएको जानकारी दिए । ‘बैठकमा १४ पालिकाका प्रमुखहरुले आ–आफ्नो पालिकामा राहत वितरण गरेको तथ्याङ्क बारे जानकारी दिनुभयो,’ सचिव श्रेष्ठले भने, ‘१४ वटा पालिकाले एक लाख ९९ हजार पाँच सय २३ परिवारलाई राहत वितरण वितरण गरेको देखियो । थप चार पालिकाले १२ हजार परिवारलाई वितरण गरेको भन्नुभएको छ । यसरी हेर्दा उपत्यकाका १८ पालिकाले मात्रै दुई लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेको देखिन्छ ।’
सचिव श्रेष्ठले उपत्यकाका सबै नाकाबाट आवत–जावत हुने सवारीलाई अनिवार्य सेनिटाइजर प्रयोग गरेर मात्रै आवत–जावतको प्रवन्ध गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए । ‘संक्रमण रोकथाम र नियन्त्रणका लागि हामीले उपत्यकाका सबै नाकाबाट आवत–जावत हुने सवारीलाई अनिवार्य सेनिटाइजरको व्यवस्था गर्ने भनेका छौँ,’ उनले भने, ‘साँगलगायतका केही नाकाबाट सुरुवात भैसकेको छ । अन्य नाकाबाट पनि छिट्टै सुरुवात गर्छौँ ।’