मलमा कालोबजारी, सहकारी संस्थामा सिलबन्दी



बारा । कृषि सामाग्री कम्पनीबाट अनुदानमा खरिद गरी बढी मूल्यमा मल बिक्री गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । कालोबजारी गरेको अभियोगमा कोल्हवी नगरपालिका–१ कोल्हवीका शम्भु साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले ७ सय रुपैयाँमा खरिद गरेको युरिया मल ९ सय रुपैयाँमा बिक्री गरिरहेको बेलामा प्रहरीले पक्राउ गरेको हो । साहले आफ्नै घरमा लक्ष्मी बहुमुखी सहकारी संस्था संचालन गरी बिभिन्न किसिमका मल खादहरू कृषि सामाग्री कम्पनीबाट र साल्ट ट्रेडिङ वीरगंजबाट ल्याएर स्टोर गरी उक्त मल तोकिए भन्दा बढी मूल्यमा बिक्रीे गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

प्रहरीले उनको घरमा स्टोर गरी राखिएको युरिया मल १ सय ८१ बोरा, कृषक पोटास ८३ बोरा, एल्मुनियम सल्फेट मल ६० बोरा र फोष्फेट मल ७८ बोरा बरामद बरामद गरेर उक्त बहुमुखी सहकारी संस्थामा सिलबन्दी समेत गरेको छ । साह उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु