कोरोना शङ्कास्पद देखिएपछि दुई जनाको नमूना काठमाडौँ ल्याइयो
चितवन । भरतपुर कोभिड-१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ ।
बिहीबार भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
बुधबार र्यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शङ्कास्पद नतिजा आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
उनीहरुमध्ये आमा र एउटा छोराको नमूना शङ्कास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।
चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन् । निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।