सनसिटी अपार्टमेन्टका ३ जनामध्ये २ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । र्यापिड टेस्टमा पोजिटिभ देखिएका ३ जनामध्ये २ जनाको पीसीआर टेस्टमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ ।
गत बैशाख १ गते उनीहरुमा आरडीसी विधिमार्फत परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
गत चैत ५ गते बेलायतबाट कतार एयरवेजबाट नेपाल आएका ३ जनामध्ये ५८ वर्षे पुरुष र ८१ वर्षे महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बाँकी १ जनाको भने पीसीआर टेस्टमा नेगेटिभ देखिएको मन्त्रालयको भनाइ छ ।
उनीहरु काठमाडौंको पेप्सीकोलास्थित सनसिटी आपर्टमेन्टको एउटा बिल्डिङको १५औं तलामा बस्दै आएका थिए ।
सो अपार्टमेन्टमा बस्ने सबै व्यक्तिहरुको कोरोना परीक्षण सरकारले आजैदेखि शुरु गरेको मन्त्रालयले जानकारी दिएको छ । साथै संक्रमितहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको ट्रेसिङ पनि शुरु गरिएको छ ।