कोरोना कहरबीच बैंकर अशोक शेरचनको आशा जगाउने गीत, ‘सुनौलो बिहानी फर्किने छ,…’



काठमाडौं । यतिबेला संसार कोरोना भाइरसको सन्त्रासले आत्तिएको छ । कोरोना आतंकले मानिसहरुलाई धेरै निराश पनि बनाएको छ ।

बढ्दो निराशा कोरोना भाइरसभन्दा खतरा हुने विश्लेषण गर्दै प्रभु बैंकका सीइओसमेत रहेका गीतकार अशोक शेरचनले समाजलाई आशा जगाउने गीत सार्वजनिक गरेका छन् । नयाँ वर्षको अवसर पारेर २०७७ सालको पहलिो दिन शेरचनको गीत सार्वजनिक भएको हो ।

नआत्तिऔं केही समय अझै, समस्या यो सकिनेछ,
मिलेर लडे, डटेर खटे, सुनौलो बिहानी फर्किने छ ।

लकडाउनकै रचिएको र रेकर्ड गरिएको गीतको म्युजिक भिडियो पनि लकडाउनकै बेला खिचिएको हो । समाजमा आशा जगाउने उदेश्यले यो गीत तयार पारिएको शेरचनले जानकारी दिए ।

‘निराशामा बाँचिरकेको समाजमा आशा जागोस् भनेर यस्तो गीत लेखेको हुँ’, उनले भने ।

बुडासुब्बा म्युजिकले सार्वजनिक गरेको गीतमा सत्यराज र स्वरुपराज आचार्यका साथै प्रविसा अधिकारी र प्रताप दासको स्वर छ ।

अनिल कार्की र प्रमोद निर्वानको संगीत रहेको उक्त गीतलाई शैलेन्द्र प्रधानले एरेन्ज गरेका हुन् ।

नितिन चन्दको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा लेखक शेरचनसहित पल शाह, प्रदिप खड्का, कृष्टिना गुरुंग, प्रविसा अधिकारी र सन्तोष शेन लगायत छन् ।


पुष्प दुलाल