स्वास्थ्यमन्त्री ढकालले भने- ६ वटा ‘टी’ बाट कोरोना विरूद्ध काम गरिरहेका छाैं
काठमाडाैं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना विरूद्धको लडाइमा ६ वटा ‘टी’ बाट काम गरिरहेको बताएका छन् । नयाँ वर्षको शुभकामना दिँदै मन्त्री ढकालले ५ कोरोना विरूद्ध लड्नका लागि ६ वटा टीको रणनीति अपनाएको बताए ।
सबैलाई घरभित्रै बस्न आग्रह गर्दै मन्त्री ढकालले घरभित्रै बस्दा यसले देशलाई फाइदा हुने बताए । उनले आजको अवस्था मानवजातिको रक्षाका लागि योगदान गर्ने अवसर रहेको बताउँदै यस्तो कठिन र असाधारण परिस्थितमा सर्वसाधारणले गरेको महत्वपूर्ण सहयोगप्रति समेत आफू आभारी रहेको बताए ।
उनले सरकारले विशेष गरी ६ वटा विधिबाट काम गरिरहेको बताए ।
१) ट्राभल रेस्ट्रिक्सन
यसका लागि आवत जावत बन्द गर्ने नै हो । जसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् भने नेपालभित्र पनि गत चैत १० गतेदेखि लकडाउन लागू गरिएको छ । यो अवस्थामा नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहनु जरुरी छ । जसबाट संक्रमण नफैलियोस् । अन्य देशहरुले पनि यो प्रयोग गरेको र प्रभावकारी पनि भएको छ । लकडाउनले सर्वसाधरणमा केही असहजता भएको छ तर हाम्रो देशलाई संक्रमणबाट बचाउन यो अपरिहार्य छ । यसमा हामीलाई सहयोग गर्नु भएकोमा उच्च मूल्यांकन गर्दछु ।
२) टेस्टिङ
यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघले तया बनाएका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमूना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्नेलाई स्वास्थ्य विज्ञले मापदण्ड बनाइ कार्यान्वयन गरेका छौं । हाम्रो अहिलेको परीक्षणको दायरालाई फराकिलो बनाइ धेरैभन्दा धेरै व्यक्तिको नमूना परीक्षण गर्ने हो ।
३) ट्रेसिङ
ट्रेसिङ भन्नाले संक्रमित व्यक्तिका परिवार, नजिकका व्यक्तिहरु, सम्पर्कमा आएका व्यक्तिहरु पहिचान गरी परीक्षणको दायरामा ल्याउनु हो । हामीले धेरै जसो संक्रमितहरुको ट्रेसिङको काम सकाइएको छ भने पछिल्लो समय संक्रमितहरुको ट्रेसिङ भइरहेको छ । यो इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आएको छ ।
४)ट्रयाकिङ
सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत भएमा सो कुराको यकिन गरी उनीहरुलाई आइसोलेसनमा राख्ने कार्य ट्रयाकि कार्य हो । त्यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, सीसीएमसी तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप तथा ट्रयाकिङ कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे वा नहरेको अनुगमन गर्नुपर्ने हुन्छ । यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ । यस कार्यका लागि मन्त्रालयले आफ्ना संयन्त्र परिचालन गरिसकेको छ । त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबैलाई यस कार्यमा सहयोग समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।
५) ट्रिटमेन्ट
हालसम्म नेपालमा १४ जना संक्रमितको संख्या रहेको छ । जसमध्ये एक जना निको भएर घर फर्किसक्नु भएको छ भने १३ जना विभिन्न अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँहरुको स्वास्थ्य स्थिती सामान्य छ । सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रण्नीति तय गरेको छ । कोरोना संक्रमणको उपचारका लागि काठमाडौंमा र काठमाडौं बाहिरका विभिन्न अस्पताल तोकिएको छ । कोरोना संक्रमण उपचारको सम्पूर्ण व्यवस्था र खर्च नेपाल सरकारले गर्नेछ । कोरोना संक्रमणबाहेकका आकस्मिक वा निरन्तर उपचारमा रहेका विरामीहरु थप समस्यामा नपरुन र उनीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस भन्नेमा मन्त्रालय गम्भीर छ र यस्तो प्रवाह गर्ने व्यवस्था मिलाउन हामी निरन्तर लागीपरेका छौं । यस महामारीको घडीमा के सरकारी, के गैर सरकारी सबै प्रकारका अस्पतालबाट उपचार गर्नुपर्ने हुन्छ । त्यसैले नेपालभरका सबै किसिमका अस्पताल सञ्चालन गर्न सरकार तयारी अवस्थामा छ । यसमा सबैको सहयोगको अपेक्षा गर्दछु ।
६) टुगेदर
कोरोना संक्रमणको यो महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्रै होइन सिंगो देश नै लागेको छ । उच्चस्तरीय समिति, सीसीएमसीदेखि लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभिन्न कमिटी बनाइ कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको कार्य व्यवस्थित रुपमा भइरहेको । यसका अतिरिक्त कुनै मन्त्रालय तथा निकायमा समेत विषयगत समिति सक्रिय छन् । यस कार्यक्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु अत्यवाश्यक दैनिक उपभोग्य सामानको व्यवस्था गर्नेहरु सरकारी तथा गैर सरकारी संघ संस्था सबै मिलेर यो लडाइ लडेमा हामीले विजय हासिल गर्नेछौं । यसका लागि आवश्यक पीपीई, परीक्षणका लागि आवश्यक सामग्रीलगायतका अन्य वस्तुहरुको हाल विश्वव्यापी रुपमा अभाव भएको छ । सामानहरु प्राप्तीका लागि र रोगबाट बच्नका लागि विश्वस्तरमा राष्ट्रहरुले गर्दै आएका प्रयन्तहरुलाई हामी सबैले नजिकबाट नियाली रहेका छौं । तसर्थ हामीले देशमा आफूसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरौं । दुरुपयोग नगरौं । आफूसँग भएको सामानको समुचित प्रयोग गर्न अनुरोध गर्दछु ।
महामारीको यो लडाइमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरौं । यस्तो अवस्थामा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । यहाँहरुको निर्वाह गर्नु भएको रचनात्मक भूमिको म कदर गर्दछु । आगामी दिनमा अझ सकारात्मक र रचनात्मक भूमिको अपेक्षा गर्दछु । अग्रमोर्चामा रहनु भएका स्वास्थ्यकर्मी र चिकित्सक हुनुहुन्छ । उहाँहरुलाई सेवा सुविधा दिनु पहिलो प्राथमिकता हो । स्वास्थ्य सामग्रीहरु यथेष्ठ मात्रामा पुर्याउन हामी लागी परेका छौं । उहाँहरुलाई शतप्रतिशतसम्म भत्ता र बीमाको समेत व्यवस्था गरिसकिएको छ । अहिले हामीले सबै क्वारेन्टाइनमा छौं । घरभित्रै बसेका छौं ।