कोरोना भाइरस नियन्त्रणका लागि भारतले एक साताभित्र स्वास्थ्य सामग्री नेपाललाई अनुदानमा दिने



काठमाडौं । भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि २ सय टन स्वास्थ्य सामग्री अनुदानमा दिने भएको छ । उच्च स्रोतका अनुसार स्वास्थ्य सामग्री बोकेका ९ वटा ट्रक काठमाडौं आइपुग्ने छन् ।

भारतले दिन लागेको स्वास्थ्य सामग्रीमा व्यक्तिगत सुरक्षा उपकरण(पीपीई),माक्स,सेनिटइजर, लगायतका उपकरण हुने छन् । यसबाहेक भारत सरकारले नेपाललाई कोरोना भाइरस नियन्त्रणका लागि उपयोगी मानिएको मलेरियाको औषधी समेत उपलब्ध गराउने छ ।

भारत सरकारले नेपाललाई भने जिटुजी मोडलबाट सामान बेच्न नसकिने सन्देश पठाएको छ ।

‘भारत सरकारले जिटुजी मोडलबाट नेपाललाई सामान बेच्न नसक्ने सन्देश दिएको छ, कम्पनीसँग नै डिल गरेर नेपाल सरकारले खरिद गर्नुपर्ने सन्देश भारत सरकारले दिएको छ,’ उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

काठमाडौंको भारतीय दुतावासले सो सामग्री हस्तान्तरण गर्नेछ । यसअघि नेपाललाई चीनले समेत स्वास्थ्य उपकरण अनुदानमा दिएको थियो । त्यो लिन भने नेपाली वायुसेवा निगमको जहाज चीन गएको थियो । भारतले काठमाडौं आफै स्वास्थ्य उपकरण ल्याएर हस्तान्तरण गर्ने भएको हो ।


क्लिकमान्डु