कर्जाको ब्याजदर घट्दै, वेस रेट र प्रिमियम नै जेठबाट घट्ने



काठमाडौं । बैकहरुको ब्याजदर जेठ १ गतेदेखि घट्ने भएको छ । कोरोना भाइरसको प्रभावलाई सहज बनाउन नेपाल बैंकर्स संघले समय भन्दा अगावै वेसरेट समायोजन गरी कर्जाको ब्याजदर घटाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणको सिर्जना गरेको असह परिस्थीतिलाई केही सहज गर्न राष्ट्र बैंकको नियम अगावै ब्याजदर समायोजन गर्ने निर्णय गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘राष्ट्रको नियमन अनुसार प्रत्येक ३ महिनामा मात्र ब्याजदर समायोजन गर्नुपर्ने हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने ‘अहिलेको परिस्थीति अनुसार हामीले साउनमा समायोजन गर्नु पर्ने ब्याजदरलाई जेठमा नै गर्ने निर्णय गरेका छौँ ।’ राष्ट्र बैंकले गत साता बैंक रेट १ प्रतिशत घटाएपछि सोही अनुसार संघले निक्षेपको ब्याजदर बैसाख १ गतेबाट लागु हुने गरी घटाएर सोही अनुसार कर्जाको पनि ब्याजदर जेठबाट घटाउने उनको भनाइ छ ।

संघले भद्र सहमती गरेर मुद्दती, बचत र कल डिपोजिटको ब्याजदर एकदेखि डेढ प्रतिशतसम्मले घटाएका छन् । बैंकहरु आफुखुसी सो केही प्रतिशत बढी पनि घटाएको अध्यक्ष दाहालले बताए ।

‘बैंकहरुले निक्षेपको ब्याज कति घटाउछन् सोही अनुसार कर्जाको पनि ब्याजदर घट्ने हो,’ उनले भने ‘जेठ १ गतेबाट लागू हुने गरी औषतमा बैंकहरुको कर्जाको ब्याजदर ०.५ प्रतिशतदेखी ०.७ प्रतिशतसम्म घट्छ ।’ बैंकहरुको मुद्दती खाता जम्मा भएको रकमको परिमाण र डिपोजिटको रेट घटाए अनुसार सो भन्दा बढी नै पनि घट्न सक्ने उनको भनाई छ । साथै एक वर्ष भित्रमा कर्जाको ब्याज १ प्रतिशत घट्ने उनको अनुमान छ ।

जेठबाट वेसरेटसँगै प्रिमियम पनि १ प्रतिशत घटाउन सहमति भएको संघका अध्यक्ष दाहालले बताए । ‘राष्ट्र बैंकले दिएकोे बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोड्न पाउने सुविधालाई पनि घटाएका छौँ,’ उनले भने ‘ग्राहकको सहुलियतको लागि प्रिमियम पनि ५ प्रतिशत बढी नलिने सहमति भइसकेको छ ।’ क्रेडिट कार्डदेखि बाहेक अब बैंकहरुले तोकिएको वेसरेट अनुसार सबै कर्जामा ५ प्रतिशत मात्र प्रिमियम जोड्ने उनले जानकारी दिए ।

संघले लक डाउन अवधीमा मुद्दति खाता नविकरण गर्न नपाएका ग्राहकलाई पनि नयाँ व्यवस्था गरेको छ । चैत महिना बैंकमा आएर मुद्दति खाता नविकरण गर्न नपाएका ग्राहकले इमेलबाट वा एसएमएस पठाएर पनि बैंकले खाता नविकरण गरिदिने छन् ।


क्लिकमान्डु