कोरोना संक्रमित युवतीको मुख्यमन्त्री पृथ्वीसुब्बासँग गुनासो: डाक्टर नै आउनुहुन्न



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि देखिएको छ । हालसम्म नेपालमा ९ जनामा कोरोनाको संक्रमण असर देखिएको छ ।

जसमा एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य ८ जना अहिले आइसोलेसनमा उपचार गरिरहेका छन् ।

त्यही ८ जनामध्येकी एक हुन् । बाग्लुङकी अंशु सापकोटा । उनी हाल धौलागिरी अस्पतालमा उपचार गराइरहेकी छन् । उनको उपचारबारे जानकारी लिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सापकोटासँग फोनमार्फत् जानकारी दिए ।

जसमा उनले उपचार कसरी भइरहेको छ र स्वास्थ्य अवस्था कस्तो छ भन्ने जानकारी लिएका थिए । मुख्यमन्त्री सुब्बा र सापकोटा बीचको कुराकानी जस्ताको तस्तै

मुख्यमन्त्री गुरुङः हेलो बैनी बोल्नु भएको हो, तपाईलाई कस्तो छ ?

सापकोटाः ठीकै हजुर, को बोल्नु भएको ?

मुख्यमन्त्री गुरुङः म मुख्यमन्त्री बोलेको पोखराबाट, पृथ्वीसुब्बा गुरुङ ।

सापकोटाः नमस्ते

मुख्यमन्त्री गुरुङ: नमस्ते,आरामै हुनुहुन्छ नी ?

सापकोटाः ठीक छु ।

मुख्यमन्त्री गुरुङ: ज्वरो आएको छ की छैन ?

सापकोटोः छैन ।

मुख्यमन्त्री गुरुङः छैन, राम्रो, खोकी छैन नी ?

सापकोटाः छैन

मुख्यमन्त्री गुरुङः तपाईलाइ राम्रो हुन्छ होला, तपाई नआत्तिनु होला । अनी डाक्टर नर्सहरुले राम्रो हेरचाह गर्नु भएको छ ?

सापकोटाः हजुर

मुख्यमन्त्री गुरुङः ल राम्रोसँग बस्नुहोला, पानी चाँही अली धेरै पिउनु होला । मैले डाक्टरलाई पनि पानी पर्याप्त पीउने व्यवस्था गराउनु होला भनेको छु ।

डाक्टरले पानी जति खाएनी दिएका छौं, तताएर खान भाँडै दिएका छौं भन्नुहुन्थ्यो । उहाँले आफैले तताउन सक्नुहुन्छ भन्नु भएको थियो । मन तातोपानी अली धेरै खानुपर्छ है ।

सापकोटाः हस

मुख्यमन्त्री गुरुङः चिसो केही नखानु होला । डाक्टरले पनि भन्नु भएको होला । डाक्टर दैनिक कति पटक तपाईलाई हेर्न आउने गर्नु भएको छ ?

सापकोटाः यहाँ त आउनु हुन्न । फोनमा कुरा हुन्छ ।

मुख्यमन्त्री गुरुङः कोठामा आउनु भएको छैन ?

सापकोटाः आउनु भएको छैन ।

मुख्यमन्त्री गरुङः ए, आनन्दले बस्नु होला है, आत्तिनु पर्दैन । तपाईलाई निको हुन्छ । ३/४ पटक परीक्षण गर्नुपर्छ, त्यसपछि बिस्तारै बिस्तारै नेगेटिभ देखिन्छ । १४ दिनभित्र निको हुनुपर्छ । पूरै रोग निको भएपछि मात्रै घर जानुपर्छ है बहिनी ।

सापकोटाः हस

मुख्यमन्त्री गरुङः डाक्टरसँग मेरो कुरा भइरहेको छ । प्रगति भइरहेको छ भन्नु भएको छ । राम्रोसँग ध्यान दिनु भनेको छु मैले । मन दह्रो बनाउनु पर्छ । युरोपमा हुने नेपालीले पनि मन दह्रो बनाएर निको भयो भन्नु भएको छ । म भोलि पनि तपाईलाई कस्तो छ भनेर फोन गर्छु है ।

सापकोटाः हस

मुख्यमन्त्री गुरुङः नआत्तिकन बस्नुहोला । तपाईलाई निको हुन्छ ।


क्लिकमान्डु