कोरोना त्रासपछि बन्द भएको तातोपानी नाका खुल्यो, ७५ सय मास्क र ५०० सेनिटाइजर आयो



काठमाडौं । चीनमा महामारीको रुपमा कोरोना भाइरस फैलिएपछि बन्द भएको तातोपानी नाका बुधबार साँझदेखि पुनः शुरु भएको छ ।

चीनले सो नाका गत माघ १३ गतेदेखि पूर्ण रुपमा बन्द गरेको थियो । सरकारको पहलपछि सो नाका सञ्चालनमा आएको हो ।

प्रमुख नाका बन्द भएपछि नेपाली बजारमा चिनियाँ सामानको अभाव हुन थालेको थियो । बुधबार साँझदेखि नाका सञ्चालनमा आएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले अपनाएको र पूरा गर्न भनेको मापदण्ड पूरा गरेर नाका सञ्चालनमा ल्याएको बताइएको छ । नाकामा स्वास्थ्य परीक्षणका लागि आवश्यक व्यवस्था गरिएको छ ।

नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको बताइएको छ । भोटेकोशी गाँउपालिकाका प्रमुख राजकुमार पौडेलले लामो समयदेखि बन्द भएको नाका सञ्चालनमा आएको बताएका छन् ।

उनले नाका खोल्नका लागि संघीय सरकार र स्थानीय सरकारले गरेको पहल अनुसार नै नाका सञ्चालनमा आएको बताए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप परीक्षण गरेर नाका सञ्चालनमा ल्याएको हो ।

सो नाकाबाट तत्कालका लागि भने मास्क र सेनिटाइजर मात्रै ल्याइने भएको छ । अन्य सामान आउनका लागि भने अझै केही समय लाग्ने बताइएको छ ।

७५ सय वटा मास्क र ५ सय सेनिटाइजर पहिलो चरणमा आएको छ । ती सामान बिहिबार बिहान काठमाडौं आइपुगेको छ ।

यस्तै नाकामा स्वास्थ्य परीक्षणका लागि नाका र स्थानीय झिर्पुमा १०– १० बेडको क्वारेन्टाइन कक्ष पनि तयार पारिएको छ । चीन तर्फ पनि चिनियाँ सुरक्षाकर्मीका अलावा स्वास्थ्यकर्मी समेत रहेका छन् । उनीहरुले आवश्यक परीक्षण गरेर ची सामान नेपाल पठाएका हुन् ।

चीनबाट भित्रिएका मास्क र सेनिटाइजर नाकामा कीटनाशक औषधि छर्केर मात्र राजधानी पठाइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सामान परीक्षण गर्न संलग्न कर्मचारीलाई संक्रमण रोक्ने सहयोग गर्ने खालको पोशाक समेत उपलब्ध गराइएको छ ।

नाका खुलेपछि स्थानीयले भने सुरक्षा सतर्कतालाई विशेष ध्यान दिन आग्रह गरेको बताइन्छ ।


क्लिकमान्डु