कोरोनाको महामारीमा उपचार गर्न अस्पताल नजाने ५ चिकित्सक निष्काशित   



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विना जानकारी अनुपस्थित ५ जना चिकित्सकलाई सेवाबाट हटाएको छ ।

अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो ।

कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले तिनलाई सेवाबाट हटाउने निर्णय गरिएको डा खनालले बताए ।

सेवाबाट हटाइएकामा रेडियोलोजी विभागका डा वरदान वली र डा ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा प्रकाश न्यौपाने, युरो सर्जन डा सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा प्रकृति कार्की छन् ।

उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए । हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन् ।

‘यस्तो महासंकटको बेलामा जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनुपर्नेमा सम्पर्कविहीन भएपछि तिनलाई हटाउनुको विकल्प थिएन,’ उनले भने ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार नै अस्पतालबाट कारवाही गरिएको बताए ।


क्लिकमान्डु