लकडाउनमा सेयर कारोबार रोक्नू ठीक कि बेठिक ? यस्तो छ सरोकारवालाको धारणा



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको कारण विश्वमा हलचल मच्चिएको छ । कोरोनाको असर नेपालमा मात्रै नभएर विश्वको अर्थतन्त्रमा परेको छ ।

कोरोनाको असरका कारण धेरै देशमा यतिबेला लकडाउन गरिएको छ । लकडाउन गरिएका अधिकांश देशमा पनि सेयर कारोबार भने खुला भएको छ ।

जुन देशमा सेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुने गरेको छ ती देशमा सेयर कारोबार बन्द छैन । भारतमा समेत २१ दिनको लकडाउन गरेपनि सेयर कारोबार भइरहेको छ ।

नेपालमा भने सेयर कारोबार बन्द रहेको छ । नेपालमा पनि सेयर कारोबार खुला गर्ने भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीइओ चन्द्र साउदले सरकारको निर्देशनको अवज्ञा गर्दै सेयर कारोबार खुला गरेका थिए । तर त्यसको चौतर्फी विरोध भएपछि चैत २५ गतेसम्म बन्द गरिएको छ ।

यद्यपि अनलाइनबाट कारोबार हुनुपर्छ भन्ने आवाज पनि आएको थियो । अहिलेको अनलाइनमा सेटलमेन्टमा समस्या भएपनि सेयर कारोबार बन्द भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले निकै तामझामका साथ ५ तारे होटलबाट अनलाइन प्रणाली शुरु गरेपनि अहिलेसम्म प्रभावकारी काम हुन सकेको छैन । जसका कारण लगानीकर्ता पूर्णरुपमा घरबाट सेयर कारोबार गर्न बञ्चित भएका छन् ।

सेयर बजार बन्द गर्नु ठीक हो वा होइन ? सञ्चालन गर्नसक्ने पूर्वाधार नभएर बन्द गरिएको हो कि सञ्चालन गर्नसक्ने अवस्था हुँदाहुँदै पनि बन्द गरिएको हो । अनलाइन कारोबारका लागि खुल्ला गर्नसक्ने अवस्था छ कि छैन ? आजका यक्ष प्रश्न हुन् यी ।

लगानीकर्ता तथा जानकारहरु बजार खोल्नुपर्ने र बन्द गर्नुपर्ने दुबै पक्षमा छन् । यसै सन्दर्भमा धितोपत्र बोर्ड, ब्रोकर, बजार विश्लेशक र लगानीकर्तासँग हामीले कुराकानी गरेका थियौं ।

याे बेला सेयर कारोबार भन्दा स्वास्थ्य ठूलो हो 

भीष्मराज ढुंगाना, अध्यक्ष, धितोपत्र बोर्ड

 लकडाउनका कारण अहिले बाहिर निस्कन सक्ने सम्भावना छैन । विश्वका अन्य देशमा अनलाइका कारोबार प्रणाली छ । नेपालमा प्रभावकारी खालको अनलाइन प्रणाली छैन । जसले गर्दा लगानीकर्ताको लागि कारोबार गर्न समस्या हुन्छ ।

यो अनलाइनले पूरा काम गर्न सक्ने अवस्था अझै छैन । यो अनलाइन प्रणालीबाट भुक्तानीमा समस्या छ । पैसा जम्मा नगरी कारोबार हुन्छ । पैसा खाताबाट खर्च हुनुपर्छ । ब्रोकरले आफ्नो खाताबाट खर्च गर्न सक्नुपर्छ । अहिले ब्रोकरले आफ्नो खाताबाट खर्च गर्न नसक्ने अवस्था भएर अनलाइनबाट पूर्णरुपमा कारोबार हुन नसकेको हो ।

कारोबार भएपछि किन्ने र बेच्ने मान्छे ब्रोकर कार्यालयमा जानैपर्छ । त्यो वातावरण अहिले छैन । अहिले घरबाट बाहिर निस्कने वित्तिकै प्रहरीले समाउँछ, बिनापास सवारी साधन चलाउन मिल्दैन । एउटा अफिसलाई २ वटाभन्दा पास दिएको छैन भने सर्वसाधारणलाई पास दिन सम्भव नहोला ।

सेयर कारोबार नगर्दा ठूलो असर पर्ने होइन । यो बेला मान्छेको स्वास्थ्य ठूलो हो । सेयर कारोबार ठूलो कुरा होइन । कुनै मान्छेको सेयर बेचेर गर्जो टर्ने भयो भने बैंकमा सेयर धितो राखेर पैसा दिन पनि सकिन्छ । जसले गर्दा गम्भीर समस्या पर्दैन ।

भारत, यूरोप, अमेरिका जस्तो पूर्णअनलाइन भइदिएको भए अनलाइनबाट कारोबार गर्न सहज हुने थियो । हामी पनि अनलाइनबाट कारोबार गर्न सक्ने थियौं. । आगामी दिनमा यो समस्या समाधान हुनुपर्छ । नेपालमा पनि हामीले टेक्निकल कमिटी बनिसकेको छ । कोरोनाले नरोकेको भए ३ महिनासम्ममा सबै काम सकिने थियो ।

सेटलमेन्टको समस्या छ

भरत रानाभाट, अध्यक्ष, नेपाल ब्रोकर एसोसिएसन

ब्रोकरले मुख्य सर्भर खोलेपछि लगानीकर्ताले अनलाइनबाट कारोबार गर्न पाउने छन् । तर कारोबार गरेपछि सेटलमेन्ट गर्नुपर्छ । सेयर किनेपछि पैसा दिनुपर्छ । बिक्री गरेको मान्छेले सेयर दिनुपर्छ । पैसा दिन पनि गाह्रो छ । सेयर नै दिन पनि गाह्रो छ । अहिलेको समस्या भनेको यो नै हो ।

मेरो सेयरबाट १०० प्रतिशत ट्रान्सफर हुँदा पनि हुँदैन । यो सम्भव पनि छैन । कुनै जिल्लाको मान्छेले त्यहाँको बंैकमा डिम्याट खाता खालेको थियो । तर उसले मेरो सेयर लिएको छैन भने त्यो सेयर कसरी ट्रान्सफर गर्ने ? त्यो संभव छैन ।
यो त उदाहरण मात्रै हो यस्ता समस्या धेरै छन् ।

पैसाको सन्दर्भमा पनि कनेक्ट आइपीएसबाट एक दिनमा १० लाख मात्रै ट्रान्सफर हुन्छ । त्यसका लागि पनि एकाउन्ट पहिला नै कनेक्ट गरेको हुनुपर्छ । अहिले कनेन्ट आईपीएस प्रयोग गर्छु भन्नका लागि बैंकमा फर्म भरेर मेरो एनसीएचएल छ भनेर निवेदन दिनुपर्छ ।

त्यो सेवा अहिले बैंकले दिएको छैन । त्यसैले अहिलेको समस्या भनेको ट्रेडिङ पछाडिको सेटलमेन्टमा समस्या भएको हो । जसले गर्दा अनलाइन प्रयोग पूर्णरुपमा छैन । अनलाइनबाट कारोबार गर्न सकिन्छ ।

त्यसपछि सेटलमेन्टमा समस्या हो । भारतमा अनलाइनबाट जसले कारोबार गर्छ यसको फण्ड अनलाइनमा ट्रान्सफर हुन्छ । सेयर पनि अनलाइनबाट ट्रान्सफर हुन्छ । लगानीकर्ताको खाता भएको पैसा टिएमएसले चेक गरेपछि मात्रै एक्जिभिसन हुन्छ । सेयर पनि चेक गरेपछि मात्रै एक्जुकेट हुन्छ । ब्रोकरले म्यानुअल्ली इन्टरभेन्ट गर्नुपर्दैन ।

नेपालमा मेरो सेयरबाट कसैले सेयर ट्रान्सफर गरेको खण्डमा ब्रोकर अफिसमा हुनेले आएको सेयरको वेटेज एभरेज सिस्टमबाट आएपनि म्यानुअल्ली राख्नुपर्ने बाध्यता छ । हाम्रो समस्या नै सेटलमेन्टको हो ।

सरोकारवालाले सेटलमेन्टको पाटो अर्थ मन्त्रालयलाई बेलैमा बुझाएको भए अहिले यो समस्या नआउने जानकारको भनाइ छ । यो समस्या बेलैमा समाधान भएको भए अहिले बजार बन्द नै हुने थिएन ।

बजारलाई बन्दक राख्न पाइँदैन

प्रकाश तिवारी, विश्लेषक

अहिले लगानीकर्ताको संघ संगठन आफै बजार बन्द गर्नुपर्छ भनेर हिँडेका थिए जुन गलत थियो । यो बेलामा बजार खोल्नुपर्छ भनेर हिँडेपनि नेप्सेको संरचना गतिलो छैन । त्यसैले लगानीकर्ताहरुले बजार बन्द गर्नुपर्छ भनेर उफ्रनु पर्ने कारण नै थिएन । किनभने नेप्से बजार खोल्न सक्ने अवस्थामा नै थिएन ।

लगानीकर्ता डिआईएस लिएर ब्रोकरकोमा जानैपर्छ । सबैले इडीआईएस लिएका छैनन् । पेमेन्ट अनलाइनबाट ट्रान्सफर गर्न मिल्दैन । अनलाइन कारोबारको पनि लिमिट छ । ब्रोकरको पनि लिमिट छ । यो कारण कारोबार गर्न सम्भव थिएन । लागनीकर्तालाई सेयरको पैसा तिर्न जानु छ भनेर छुट पनि पाइँदैन, पास पनि पाइदैन । भएको भए कारोबार भएपनि १/२ करोड कारोबार हुने थियो होला । प्रभावकारी रुपमा कारोबार हुने थिएन ।

अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आवश्यक कानून बनाएर अनलाइनबाट कारोबार गर्ने व्यवस्था गरेको भए राम्रो हुने थियो ।

त्यसले बजारलाई पूर्णअनलाइन बनाउन सघाउने थियो । नेपालको सेयर बजारलाई पूर्णअनलाइन बनाउनको लागि यी निकायले ऐन कानून नबनाई सम्भव नै छैन ।

अहिले जति नै अनलाइनबाट सम्भव छ भनेर भनेपनि यतिबेला कारोबार खुलेको थियो भने त्यो वास्तविकता बाहिर आउने थियो । अनलाइन कारोबारभित्रको कमजोर पाटोको बारेमा पनि थाहा पाउन सकिने थियो ।

यो बेला कारोकार भएको खण्डमा अनलाइन नलिनेलाई हामीले पनि अनलाइन लिनुपर्छ भन्ने बाध्यता पनि हुने थियो । जसले गर्दा अनलाइन प्रयोगकर्ता बढ्ने थिए । अरुले कारोबार गरेपछि मैले पनि लिनुपर्ने रहेछ भन्ने ज्ञान हुने थियो । सँधै फोन गर्नु, ब्रोकरकोमा जानुभन्दा इडिआईएसको प्रयोग गरौ भन्ने ज्ञान हुने थियो । त्यसबाट हामी चुकेका छौं ।

यस्तो अवस्थामा बजार खोल्दा बजार घट्नसक्छ । लगानीकर्तालाई मर्का पर्छ भन्ने कुरा पनि आएको छ । बजार घटदा नोक्सान नै हो हुने । तर लगानीकर्तालाई मर्का पर्छ भन्दैमा बजार बन्द नै गर्ने त होइ नी ।

बजार घट्यो भने पनि नयाँ लगानीकर्ता भित्रन सक्छन् । त्यसमा पनि हामीले ध्यान दिन सकिन्छ । बजार घटेर लगानीकर्तालाई घाटा लाग्छ भनेर बजार बन्द गर्नु राम्रो होइन, यही तर्कलाई हेर्ने हो भने बजार बढेको समयमा किन बन्द नगर्ने ?

बजारलाई आफ्नो तरिकाले चल्न दिनुपर्छ । महत्वपूर्ण विषय के हो भने यस्तो अवस्था आएमा पनि बजार सञ्चालन गर्न सक्ने खालको संरचना विकास गर्नुपर्छ । संरचनागत अभावमा बजारलाई बन्दक राख्न कुनै हालतमा पाइदैन ।

बजार बन्द गर्नु हुँदैन, यसरी खोल्न सकिन्छ

नीरव पु्डासैनी,  विश्लेषक

अहिलेको अवस्थामा अनलाइनबाट कारोबार गरेर बजार रोक्नु हुँदैन थियो । पैसाको सर्कुलेशन हुने थियो । लगानीकर्तालाई पैसा पनि आवश्यक हुन्छ नै ।

बजारमा अनावश्यक उतारचढाव भयो भने त्यसलाई रोक्नका लागि कुनै निर्देशन जारी गर्ने गर्न सकिन्छ । सर्किटलाई घटाउन सकिन्छ ।

पैसाको कारोबारको लागि कनेक्ट आईपीएस छँदैछ । केही पनि भएन भनेर बसेर हुँदैन । सेयर कारोबार गर्न मन हुनेले अनलाइनबाट नै गरिहाल्छन् । १ वा २ प्रतिशतको मात्रै छ भनेर बस्ने होइन ।

लकडाउन भएको अन्य देशमा पनि कारोबार भएको छ । भारतमा पनि एनएसी चलेको छैन । बीएससी चलिरहेको छ । नेपालमा पनि चाहेको हो भने सकिने थियो । यदि नेपालमा फरक फरक इन्डेक्स भएको भए यो चलाउँछु यो चलाउँदिन भन्ने पाइने थियो । त्यो अहिले सम्भव छैन ।

कार्यालय नखुले पनि ब्रोकरले घरबाट पनि कारोबार गर्न सक्ने पनि होला । अहिले १० लाख रुपैयाँसम्मको कारोबारका लागि इसेवा, खल्तीजस्ता एपको सहयोग लिन सकिन्छ ।

सबैको बैंकमा खाता हुन्छ । त्यही खाताबाट चेक दिनेमा अनलाइन पेमेन्टको लागि राष्ट बैंकले सिलिङ बढाउन सकिन्छ । लकडाउनको लागि वा सेयर कारोबारको लागि भन्दै सिलिङ बढाएको भए हुने । त्यसलाई सम्पत्ति शुद्धिकरणले पनि पछि हेरे भयो । बजार नै बन्द गर्न आवश्यक थिएन ।

ब्रोकर कार्यालयमा काम गर्ने भनेको ब्रोकरका मालिकहरु नै हुन् । अहिले पनि उनीहरुले बसेर काम गर्दा हुन्छ । यो बेला म्यूचुअल फण्डहरुले पनि कारोबार गरिहाल्छन् ।

अनलाइन लिनेले पनि गरिहाल्छन । यो हुँदा बजारमा कारोबार भइनै रहन्छ । राजस्व पनि उठ्छ । देश बचाउन पनि पैसा त चाहिन्छ नै । त्यसैले बजार रोक्नु हुँदैन ।

बजार खोलेको भए सीमित व्यक्तिका लागि मात्रै हुन्थ्यो

अम्बिका पौडेल, लगानीकर्ता

यो बेलामा बजार बन्द हुनु ठीक हो । सेयर बजारमा अनलाइन कारोबार प्रणाली केवल खरिद बिक्रीमा मात्रै सीमित छ ।
सेयरको कारोबार खरिद बिक्रीसँग मात्रै जोडिँदैन । यसमा राफसाफ, भुक्तानी लिने दिने कुरा पनि जोडिन्छ । सेयर कारोबार केहीले अनलाइनबाट गर्न सक्लान् । तर त्यो पनि सबैको पहुँचमा छैन ।

सेयर खरिद बिक्री पछिका विविध सिस्टमहरु अनलाइनमा नभएको कारण सेयर बजार खोल्नु भनेको विशुद्ध सीमित व्यक्तिका लागि मात्रै हुन्छ । सेयर बजार त कारोबार गर्न चाहने सबैको लागि सहज हुनुपर्छ ।

सबैको लागि सहज नभएको बेलामा स्वतन्त्ररुपमा कारोबार हुन पाउँदैन । त्यसले बजार घटाउन मात्रै सहयोग गर्छ । यसले बजार पनि फेयर हुँदैन । लकडाउन भएसम्म, बैंक तथा वित्तीय संस्थामा सहज आवत जावत नभएसम्मको लागि बजार बन्द गर्नु नै राम्रो होला ।

बजार बन्द गर्नुको विकल्प छैन

राधा पोखरेल, अध्यक्ष, नेपाल पुँजी बजार लगानीकर्ता संघ

सामान्यतयार सेयर बजार बन्द हुनु राम्रो कुरा होइन । तर अहिलेको अवस्थामा सेयर बजार बन्द हुनुको विकल्प पनि छैन । अहिलेको अवस्थामा बजार खोल्न सकिने अवस्था छैन ।

घरमा बसेर किनबेच गरेपनि सेटलमेन्ट गर्नको लागि ब्रोकर कहाँ नै जानुपर्छ । त्यो अहिले सम्भव छैन । अहिले डिम्याट खाता, बैंक खात र ब्रोकरमा खोलिएको खात एक आपसमा इन्टिग्रेट छैनन् ।

लगानीकर्ता घरबाट बाहिर निस्कने सम्भावना पनि छैन । हामीले भारत लगायतका देशको कारोबार हेरेर हुँदैन, ती देशमा अनलाइनबाट कारोबार गर्न सक्ने सहजै व्यवस्था छ, त्यहाँ भारत बाहेक अन्य देशबाट पनि कारोबार हुने गरेको छ । नेपालमा अनलाइन प्रयोग गर्ने लगानीकर्ता नै थोरै छन् । धेरैले अनलाइन सेवा लिएका छैनन् ।

बजार खोल्ने हो भने लगानीकर्ता ब्रोकरको सम्म पुग्नुपर्छ । जुन सम्भव छैन ।

अहिले कतिपय लगानीकर्ताहरु गाउँ फर्कि सकेका छन् । यो बेला बजार खुल्दा अनलाइन प्रयोग नगर्ने लगानीकर्ताको लागि मर्का पर्छ । कतिपय लगानीकर्ता लगानी कारोबार गर्नबाट बन्चित हुन्छन । यो बेला बजार खोल्नु भनेको लगानीकर्ताको लगानी झनै जोखिममा जानु हो ।

बजार सञ्चालन भन्दा सुरक्षामा ध्यान दिऔं

दिलिप मुनकर्मी, विश्लेषक

अहिलेको अवस्था सेयर बजार संचालन गर्नुपर्छ वा पर्दैन भन्ने विषयमा लगानीकर्ताबीच बहस चलेको छ । किनभने यो समय भनेको संक्रमणबाट आफू सुरक्षित रहने र अरुलाई पनि सम्भावित संक्रमणबाट जोगाउने नै हो । यो समयमा कुनै पनि लगानीकर्ता स्वस्थ लगानीको निर्णय लिने र किनबेच गर्ने वाताबरणमा छन् भन्ने विश्वसनीय आधार छैन ।

नेपालको सेयर बजार एक प्रकारको आइसोलेसनमा रहेको बजार हो । त्यसैले अरुको जस्तो यहाँको बजार संचालन वा बन्द भन्ने अवस्था रहन्न । जहाँसम्म लगानीकर्ताको वित्तीय आवश्यकताको बाध्यता वा तरलताका लागि बजार संचालन गरिनुपर्छ कि भन्ने छ ।

वास्तविक लगानीकर्ताले सेयरमा लगानी गर्ने भनेको वचत रकमबाटै हो । उसले सेयर किनेको भोलिपल्ट नै अब ५ वर्ष बजार बन्द हुन्छ भन्ने सम्झनु भनिन्छ । भनेको यहाँ अरु वस्तु तथा सेवामा जस्तो आज किनेको सेयर भोलि बेचेर नाफा घाटा र जीवनयापन भन्ने सेयर बजारको लगानी सिद्धान्त विपरीत हो ।

हो, कारोबार गरेर केही पूँजीगत लाभ गर्नेहरुलाई असहज होला । तर उनीहरुको पनि मुनाफा त ग्यारेन्ट छैन । त्यसैले सेयर बजारको कमाइबाट मात्र दैनिक भन्ने गलत हुनेछ, यहाँ लगानी वा कारोवार गर्दा नै बैकल्पिक आधार सोच्नै पर्छ र धेरैले सोचेका पनि होलान् ।

यस हिसावले हेर्ने हो भने राज्यले नै विषम परिस्थिति र हिँडडुल प्रतिबन्ध लगाएको अवस्थामा बजार जानु र कारोबार सम्भव देखिन्न ।

जहाँसम्म अनलाइन कारोवार संचालनको सम्भावना छ, नेपालको अनलाइन भनेको सुपरसेमी अनलाइन हो, जहाँ तोकिएको सीमाभित्रको कारोवार गर्न सकिन्छ । तर पूर्णत निर्भर रहेर किनबेच, राफसाफ हुन सक्दैन ।

त्यसमाथि अनलाइनमैत्री लगानीकर्ता र पहुँच समेत निकै न्यून मात्र रहेको तथ्यांकले देखाइरहेको छ । हालैका अन्तिम कारोवारहरुको समेत भुक्तानी र राफसाफ हुन सकेको छैन ।

यसअवस्थामा ती अतिन्यून र सीमित व्यक्तिको स्वार्थका लागि राफसाफ नभएपनि बजार संचालन गर्ने हो भने असहमति राख्नु आवश्यक छैन । बजार संचालन गरे हुन्छ ।

तर यति हुँदाहुँदै पनि नियामक र बजार संचालकले के ध्यान दिनुपर्छ भने सीमित व्यक्तिको लागि संचालित बजारले आमलगानीकर्ताको सम्पत्तिमा हानीनोक्सानी र प्रभाव पार्न वा त्यसबाट जोखिम र त्रास सिर्जनातर्फ विचार पर्ुयाउनै पर्छ ।
भन्न त, सेयर बजार जोखिम लिन नसक्नेहरुका लागि होइन भन्नेमा विवाद पनि गर्नुपर्दैन । तर त्यो जोखिम लिने र दिने काम हामी सामान्य अवस्थामा गरौंला ।

बजार घटबढ पनि सोही समयमा गरौंला, अहिले हामी सुरक्षित रहौं । र अनावश्यक तनाव र त्रास थप्ने काम नगर्दा सबैको हित हुने देखिन्छ ।


क्लिकमान्डु