कोरोनाः भारतमा कम उमेरका मानिसमा बढी संक्रमण



विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमणबाट वृद्धवृद्धामा देखिएका बेला भारतमा भने त्यसको ठीक उल्टो ६० वर्षभन्दा कम उमेर समूहका मानिसमा बढी संक्रमण देखिएको छ ।

जबकी यो रोगबाट ६० वर्षभन्दा माथि उमेर समूहका मानिसमा उच्च जोखिम रहेको बताउँदै आइएको थियो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ८३ प्रतिशत बिरामी ६० वर्षभन्दा मुनीका छन् । जसमा सबैभन्दा धेरै ४१ प्रतिशत बिरामी २१ देखि ४० वर्ष उमेर समूहका बीचमा छन् ।

जबकी ६० वर्षभन्दा माथि उमेर भएका मानिसमा यसको संक्रमण भारतमा १७ प्रतिशत मात्रै छ । भारतमा २१ वर्षदेखि ४० वर्ष उमेर समूहमा बढी देखिनुलाई उक्त समूहका मानिसहरु धेरै विदेश आउने जाने गर्नाले पनि संक्रमण बढेको हो भन्ने मानिएको छ । जसमा विभिन्न पेशामा आबद्ध, विद्यार्थीलगायत छन् ।

त्यस्तै मृत्युको आँकडालाई विश्लेषण गर्ने हो भने डाइबिटिज, कार्डियाक, तथा हाइपरटेन्सनलगायतका विरामीहरुमा बढी देखिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रायले मृत्यु कुन उमेर समूहमा बढी देखिएको छ भन्ने तथ्यांक उपलब्ध नगराए पनि रोगबारे भने जानकारी दिएको छ ।

भारत रोगको संक्रमण हेर्दा २१–४० वर्ष उमेर समूहमा ४१.९ प्रतिशत, ४१–६० वर्ष उमेर समूहमा ३२.८ प्रतिशत, ०–२० वर्ष उमेर समूहमा ८.६ प्रतिशत र ६० वर्षभन्दा माथिको उमेर समूहमा १६.७ प्रतिशत देखिएको छ ।

अहिले भारतमा ५८ वटा गम्भीर प्रकृतिका रोगी छन् । उनीहरु विशेष गरी केरला, मध्यप्रदेश र दिल्लीमा भेटिएका छन् ।

हालसम्म भारतमा ३५८८ वटा कोरोना भाइरसका संक्रमित पुष्टि भइसकेका छन् । जसमध्ये ९९ जनाको मृत्यु भइसकेको छ । साथै हालसम्म १ लाख १६ हजारभन्दा बढीमा परीक्षण भइसकेको छ ।


क्लिकमान्डु