अमेरिकी राष्ट्रपति ट्रम्पले भने– मास्क लगाउने सल्लाह म मान्दिन, लगाउनेले लगाए हुन्छ



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई मास्क लगाउन आएको सल्लाह नमान्ने बताएका छन । उनी आफैले पनि मास्क नलगाउने बताए ।

उनले आफैले विभिन्न क्षेत्रका मानिस भेटदा मास्क लगाएर भेटेको हेर्न  चाहन्न भनेका छन् । गत शुक्रबार जारी भएको उक्त सल्लाहलाई उनले भोलुन्टरी एडभाइसको संज्ञा दिएका छन् ।

उनले थप प्रष्ट पार्दै भनेका छन, ‘तपाईहरुले लगाउनुहोस, म मास्क लगाउनुपर्छ भन्नेमा सहमत छैन ।’

गत शुक्रबार सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले उक्त सुझावसहितको गाइडलाइन जारी गरेको थियो । २ लाख ७० हजार ४ सय ७३ जनामा कोरोना संक्रमित र करिब ७ हजार जनाको मृत्यु भइसक्दा समेत राष्ट्रपति मास्क लगाउने सल्लाहको विरोधमा उभिएका हुन् ।

अहिलेसम्म अमेरिकी स्थास्थ्य अधिकारीहरुले विरामी र विरामी कुरुवाहरुले मात्र मास्क लगाए हुने बताउँदै आएका थिए । तर अहिलेको नयाँ अध्ययनले रोग सर्न नदिन मास्क लगाउन अत्यावश्यक भएको सुझाव दिएको छ ।

‘पछिल्ला अध्ययनबाट कुनै लक्षण नदेखिएका ब्यक्तिबाट पनि कोरोना संक्रमण फैलिने पत्ता लागेको छ जुन निकै घातक छ,’ ट्रम्पले भने ।

संचारकर्मीसंग बोल्दै उनले भनेका छन– ‘स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन सुझाव दिएपनि म आफैले मास्क लगाउन चाहन्न ।’

पछिल्लो समय अमेरिकी जनताहरुलाई सफा कपडाले मूख छोप्न सल्लाह दिइएको छ । अधिकारीहरुले भनेका छन– मेडिकल मास्कको अभाब छ , ती मास्क कोरोन संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई दिनुपर्छ ।

उनले ओभल अफिसको सुन्दर र भब्य डेस्कमा मास्क लगाएर बस्ने चाहना नभएको समेत स्पष्ट पारेका छन ।


क्लिकमान्डु