अमेरिकामा कोरोना आतंक : २४ घण्टामा ११६९ जनाको मृत्यु, ३० हजार नयाँ संक्रमित



अमेरिका । पछिल्लो समय कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु बनेको अमेरिकामा दैनिक मृत्यु हुने संख्यामा नयाँ रेकर्ड बनेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ६९ पुगेको छ ।

यसअघि एकै दिन सर्वाधिक धेरै मृत्यु इटालिमा भएको थियो । मार्च २७ मा इटालीमा ९ सय ६९ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका थिए ।

कोरोना महामारी शुरु भएदेखि अहिलेसम्म अमेरिकामा ५ हजार ९ सय २६ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी अहिलेसम्म कुल मृत्यु हुनेमा इटालि पहिलो स्थानमा रहेको छ । इटालीमा कोरोना संक्रमण शुरु भएपछि १३ हजार ९ सय १५ जनाको ज्यान गएको छ । त्यसै गरी स्पेनमा पनि १० हजार ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अमेरिकामा पछिल्लो २४ घण्टामा ३० हजार जना नयाँ संक्रमित भेटिएका छन । अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या २ लाख ४३ हजार पुगेको जोन हप्किंसले जनाएको छ । यो संख्या विश्वभर भएको संक्रमणको करिब एक चौथाई हो ।

अमेरिकाका विभिन्न राज्यमध्ये सर्वाधिक धेरै न्यूयोर्कमा संक्रमित भएका छन । न्यूयोर्कमा संक्रमितको संख्या ५० हजार पुगेको छ भने १५ सय जनाले ज्यान गुमाइसकेका छन ।

अमेरिकाका उपराष्ट्रपति माइक पेन्सका अनुसार अहिलेसम्म १३ लाख जनाको कोरोना परिक्षण गरिएको छ । त्यसैगरी अमेरिकाका अहिले प्रतिदिन १ लाख जनाको कोरोना भाइसर जाँच भइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा २ लाख ४० हजार जना सम्म मृत्यु हुने आँकलन गरिएको छ ।


क्लिकमान्डु