ओम्नीसँग सम्झौता रद्द गरेपछि सरकारले भन्यो- भोलि नयाँ टेन्डर खुल्छ आवेदन दिनुहोला
काठमाडौं । सरकारले चीनबाट स्वास्थ्य सामग्री ल्याउने ओम्नी कम्पनीसँग सम्झौता गरी कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
बुधबार प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र श्रेष्ठले भनेको समयमा भने जति सामान ल्याउन नसकेको भन्दै सम्झौता रद्द गरिउको हो ।
उनका अनुसार अप्रिल २ मा दोस्रो लटको सामान ल्याउनु पर्ने भए पनि आजसम्म ल्याउने प्रतिवद्धता नजनाएकाले सम्झौता रद्द गरिएको हो । साथै कम्पनीले राखेको ५ करोड रुपैयाँ धरौटी समेत जफत गर्ने निर्णय भएको उनले जानकारी दिए ।
उनका अनुसार थप मेडिकल सामग्री ल्याउनका लागि भोलि नयाँ टेन्डर आह्वान गरिनेछ ।
‘भोलि नयाँ टेन्डर आह्वान गरिनेछ, त्यसमा अहिले सस्तोमा उपलब्ध गराउँछौ भन्ने कम्पनीले सस्तो दरमै आवेदन दिनुहोला,’ उनले भने ।
‘कोभिड १९ का लागि आवश्यक सामग्री ल्याउन विषयमा धेरै अन्योलको अवस्था सिर्जना भएको पाएका छौं । यसमा पहिले पनि हामीसँग केही सामान थियो । बजारमा धेरै सामान थिएनन । त्यसैले किन्दै वितरण गर्दै गएका थियौं,’ उनले भने ।
शुरुमा हामीले माघ २५ गते चेम्साङ कम्पनीलाई बोलाएर हामीले प्रस्ताव पेश गर्न भनेका थियौं । तर कसैले पनि प्रस्तावपेश गर्नु भएन । फेरि फागुन २३ गते खरिद प्रक्रिया शुरु गर्यौ ।
र, फागुन ३० गते ७ दिनको अवधि दिएर टेन्डर आह्वान गर्यौ । त्यसमा १९ वटा कम्पनीले आवेदन दिनु भयो । त्यसमा कसैले पनि तुरुन्तै सामग्री दिन सक्ने अवस्था भएन । कसैले ३० दिन त कसैले २० दिन लाग्छ भन्ने कुरा गर्नु भयो ।
उहाँहरुलाई हामीले तपाईले के चाहिन्छ ? सामान भारत वा चीन कहाँ छ वा हङकङ वा सिंगापुर जहाँ भए पनि सरकारले विमान पठाइदिन्छ सामान ल्याउँ पनि भनेका थियौं ।
त्यसका लागि हामीले ३ दिनको समय पनि दियौं । तर उहाँहरुले सो समयमा काम गर्न सक्नु भएन । नेपालमा औषधिको अभाव पनि बढ्दै गएको थियो त्यसैले हामीलाई जति सक्दो छिटो औषधिको आवश्यकता थियो ।
त्यसपछि चैत ११ गते २४ गते सबैलाई मन्त्रालयमा बौलायौं । त्यसमा ३५ जना सप्लायर्ससँग बसेर छलफल गर्यौं । त्यसमध्ये ७ जना सप्लायर्सले छिटोभन्दा छिटो सामान दिन सक्ने कुरा राखिसकेपछि हामीले फेरि ७ जना सप्लायर्ससँग छुट्टै बस्यौं ।
उहाँहरुसँग फेरि कुरा गर्दा त्यही दिन ७ बजेसम्म प्रस्ताव पेश गर्नुपर्नेमध्ये २ जनाले मात्रै प्रस्ताव पठाउनु भयो । जसमध्ये ओम्नी ओबीसीआई प्रालिले पेश गरेको दररेटमा ०.५ प्रतिशत रेट कम गरी सम्झौता गर्यौ ।
र, यो बजार भाउभन्दा प्रतिशत बढी रकम हो । २० प्रतिशत ठूलो कुरा भएन हामीलाई छिटोभन्दा छिटो सामान चाहिएको थियो । तर उहाँहरुले भने जति सामान भनेको समयमा ल्याउन सक्नु भएन । उहाँहरुले मार्च ३० सम्ममा जम्मा १० प्रतिशत सामान ल्याउनु भएको छ । पैसाको हिसाबमा कुल १८ प्रतिशत अंकको मात्रै सामान उहाँले ल्याउनु भएको छ ।
दोस्रो लट अन्तर्गत उहाँहरुले भोलि ल्याउनु पर्ने कुनै सम्भावना छैन । ल्याउन सक्छौ भनेर अहिलेसम्म प्रतिबद्धता पनि गर्नु भएको छैन । त्यसैले आजै त्यो सम्झौता रद्द भइसकेको छ । उहाँहरुको धरौटी पनि जफत गर्ने र कालो सूचीमा राख्न प्रक्रिया अगाडि बढाउने समेत निर्णय भएको छ ।
साथै नयाँ सामग्रीका लागि नया्रँ टेन्डर आह्वान गर्ने छौं । भोलि हामी फेरि सूचना निकाल्छौं । अहिले हामी सस्तोमा सामग्री दिन्छौं भन्नु भएको छ सस्तोमा पेश गर्नका लागि हामीले आह्वान गर्दछौं ।
तीन दिनभित्र प्रस्ताव आइसकेपछि ५ दिनभित्र सामग्री ल्याउने सर्तमा सम्झौता गर्नेछौं । साथै अस्पताललाई कुनै पनि स्वास्थ्य सामग्रीको अभाव हुँदैन भनने प्रतिवद्धता समेत जनाउँछौं । ओम्नी कम्पनीले समयमा भने जति सामान ल्याउन सक्नु भएन ।