राष्ट्र बैंकको अबको गभर्नर कस्तो हुनुपर्छ ?



काठमाडौं । गत चैत ५ गतेदेखि गभर्नर डा. चिरञ्जीबी नेपाल आफ्नो कार्यकाल पूरा गरेर राष्ट्र बैंकबाट बाहिरिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चैत ५ भित्रै राष्ट्र बैंकले नयाँ गभर्नर पाउने सार्वजनिकरुपमै भनेका थिए ।

तर, अहिलेसम्म पनि राष्ट्र बैंकले नयाँ गभर्नर पाउन सकेको छैन ।

नयाँ गभर्नरका लागि कामु गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी, योजना आयोगका पूर्वअध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, पूर्वअर्थ सचिव राजन खनाल र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार लालशंकर घिमिरे लगायतको नाम चर्चामा छ ।

यसै सन्दर्भमा हामीले सरोकारवालाहरुलाई सोधेका थियौं अब बन्ने गभर्नर कस्तो हुनुपर्छ ।

हिमालयन शम्शेर राणा, प्रथम गभर्नर

गभर्नरको उत्तरदायित्व जिम्मेवारी गहन छ । मेरो बुझाइमा गभर्नरको मुख्य काम ४ वटा छन् । पहिलो, हरेक वर्ष मुलुकको मुद्रा नीति घोषणा हो । मुद्रा नीतिको माध्यमबाट र नेपाली मुद्राको मूल्यको अन्तर्राष्ट्रिय बजारमा स्थायित्व ल्याउने हो । यसको मूल्यमा ह्रास आउन दिनु हुँदैन ।

त्यस्तै, मुद्रास्फीति कन्ट्रोल गर्दै त्यसलाई कार्यान्वयन गर्ने अन्तर्राष्ट्रिय गतिविधिलाई विचार गरेर एउटा उपयुक्त मुद्रा नीति गभर्नरले ल्याउनु पर्छ । त्यसैले भावी गभर्नर मुद्रा बजारको ज्ञान भएको हुनुपर्छ ।

दोस्रो राष्ट्र बैंकले वित्तीय संस्थाको अभिभावक भएर नियमन र सुपरिवेक्षण गर्ने भएकाले वित्तीय क्षेत्र बुझेको गभर्नर हुनुपर्छ । तेस्रो सरकारको आर्थिक सल्लाहकार भएकाले दातृ निकायलाई विश्वमा ल्याउन सक्ने र अर्थशास्त्रको ज्ञान भएको तथा सक्षम लिडरसिप भएको व्यक्ति गभर्नरका लागि योग्य हुन्छ ।

दीपेन्द्र बहादुर क्षेत्री, पूर्वगभर्नर

मुलुकको अर्थतन्त्रमा बेला-बेलामा आउने उतारचढावहरु र अर्थ क्षेत्रमा खेल्ने खेलाडीको प्रवृतिको ज्ञान र बुझेर आफ्नो निर्णय गर्न सक्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर हुनुपर्छ । यसको व्यवहारिक ज्ञान भएको व्यक्ति गभर्नर भएमा अर्थतन्त्रले पनि राहत पाउँछन् । लगानीकर्ताहरुले पनि भरोसा पाउँछन् ।

अर्थमन्त्रालयले बेलाबेलामा राष्ट्र बैंकमा जुन राज चलाएको छ, त्यो राजलाई पनि डिल गर्ने क्षमता राख्ने आत्मबल भएको गभर्नर राष्ट्र बैंकमा आउनुपर्छ । ऐन कानूनले क्षेत्रहरु बाँडेको छ । मौद्रिक नीति राष्ट्र बैंकको र वित्त नीति सरकारको भनेर संविधानमा नै भनिएको छ ।

संघीयता कार्यान्यवन गर्ने क्रममा बैंकहरुको उपस्थिती सबै स्थानीय तहमा पुर्याउने भनिएको थियो । तर अझै पनि कतिपय ठाँउमा पुगेको छैन । अब आउने गभर्नरले सबै स्थानीय तहमा बैंकका शाखा पुर्याएर बैंकको सकारात्मक प्रभाव त्यस क्षेत्रमा पार्न सक्नुका साथै सबै सरकारी कारोबारहरु बैंकमार्फत नै गर्ने व्यवस्था गर्नुपर्छ ।

राष्ट्र बैंकले विगतमा ल्याएका कतिपय अभियानहरु पूरा भएका छैनन् । पहिलेका गभर्नरले निरन्तर रुपमा नै बढीमा १० वटा वाणिज्य बैंक भए पुग्छ भन्नु भएको छ । अझैपनि २७ वटा बैंक छन् । आउने गभर्नरले बैंकलाई मर्ज गराएर १० वटामा सीमित गर्ने पहिलो प्राथमिकता हुनुपर्छ ।

नरबहादुर थापा, पूर्वकार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको भावी गभर्नर राष्ट्र ऐनले तोकेको मापदण्ड पूरा भएको र कानूनी, राजनैतिक र सामाजिक स्वच्छन्दता भएको व्यक्ति हुनुपर्छ । गभर्नरले स्वविवेक प्रयोग गर्ने, राष्ट्र बैंकका ऐनमा भएका प्रवधानहरु र राष्ट्र बैंकको गरिमालाई जोगाई राख्ने, समन्वयकारी भूमिका निभाउन सक्ने, वित्तीय क्षेत्रमा सन्तुलित पहुँचको विस्तार गर्नसक्ने क्षमता भएको गभर्नर चाहिन्छ ।

अहिले कोरोना भाइरसको महामारी चलिरहेको छ । जसको अर्थतन्त्र र वित्तीय क्षेत्रमा नकारात्मक असर परिसकेको छ भने थप असर पर्ने सम्भावना प्रवल छ । यसले पारेको नकारात्मक असरलाई कसरी सन्तुलनमा ल्याउने भन्ने केन्द्रीय बैंकको गभर्नरको प्रमुख चुनौती हुन्छ ।

वित्तीय पहुँचको विविधिकरण कसरी गर्ने भनेर पनि गभर्नरको चुनौतीको विषय नै हो । साथै ग्रामीण अर्थतन्त्र विकास र वित्तीय स्रोत परिचालन, मर्जरको पनि चुनौती छ ।

अनिल केशरी शाह, बैकर

वित्तीय क्षेत्र भनेको धेरै सम्वेदनशील र जटिल क्षेत्र हो । त्यसमा पनि अहिले कोरोना भाइरस संक्रमणको कारणले गर्दा यो क्षेत्रलाई अझ बढी जटिल बनाएको छ । अब कोरोना भाइरसले हाम्रो अर्थतन्त्रलाई धेरै ठूलो नकारात्मक असर पार्छ ।

जसरी भूकम्प र नाकाबन्दीका बेलामा राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई सन्तुलनमा राख्दै अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको थियो अब कोरोना भाइसरले पारेको नाकारात्मक असरलाई सन्तुलनमा ल्याउने क्षमता भएको गभर्नर वित्तीय क्षेत्रलाई आवश्यक छ । जसकारण अब राष्ट्र बैंकको गभर्नरमा यस्तो व्यक्ति जानुपर्छ ,जसले नेपालको वित्तीय क्षेत्र, राष्ट्र बैंक र समग्र अर्थतन्त्र बुझ्नु भएको छ ।

योसँगै जसले विगतमा राम्रो नेतृत्व गर्न सक्ने क्षमताको प्रर्दशन गर्नु भएको हुनुपर्छ । यी सबै क्षमता भएको व्यक्तिले राष्ट्र बैंकको नेतृत्व गर्दा राम्रो गभर्नर बन्न सक्नुहुन्छ । अहिले गभर्नर भएर राष्ट्र वा बैंकिङ क्षेत्र हेर्न मात्र नभएर सरकारको अर्थ विज्ञको भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ । त्यसकारण गभर्नर अर्थतन्त्रमा पोख्त हुन आवश्यक छ ।

अर्थतन्त्रको मुटु भनेको वित्तीय क्षेत्र हो । वित्तीय क्षेत्रलाई सकारात्मक दिशातर्फ लैजान सक्ने क्षमता भएको हुनपर्छ । अब हुने गभर्नरका लागि मर्जर र वित्तीय प्रविधिसँगै वित्तीय पहुँच विस्तार, ब्यालेन्स अफ पेमेन्टको चुनौती यथावत नै छ । यसलाई पूरा गर्ने लक्ष्य र क्षमता भएको गभर्नर हुनुपर्छ ।

लक्ष्मीप्रपन्न निरौला, पूर्वकार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

राष्ट्र बैंक हिँजो पनि स्वतन्त्र नै थियो । र, आज पनि स्वतन्त्र नै छ । गभर्नर जसलाई बनाउँदा पनि हुन्छ । तर नियुक्त गर्दा नै कार्य सम्पादन सम्झौता गर्नुपर्छ । गभर्नर नियुक्त हुँदा गरेको सम्झौता पूरा गर्न नसके उसले राजीनामा दिनुपर्छ, अन्तर्राष्ट्रियस्तरमा पनि यो प्रचलन पनि छ । यसलाई सरकारले अहिलेबाट कार्यान्वयन गर्नुपर्छ ।

जीडीपीको भन्दा निक्षेपको आकार ठूलो भइसकेको अवस्थामा बैंकिङ क्षेत्रको पैसालाई कुशल ढंगले उत्पादन क्षेत्रमा परिचालन गर्दै जीडीपीको ग्रोथसँग जोड्नका लागि त्यसलाई कुशल परिचालन गर्न सक्ने व्यक्ति अबको गभर्नर पर्छ ।
यसका लागि अहिले चर्चामा आएका नामबाट छान्दा पनि हुन्छ र त्यसभन्दा बाहिर अझै राम्रो भेटिन्छ भने त्यताबाट छान्दा पनि हुन्छ । तर नेतृत्व गर्न सक्ने व्यक्तिलाई गभर्नर पर्छ ।

राष्ट्र बैंकभित्रै पनि संरचनागत समस्या सिर्जना हुँदै गएको छ । गभर्नरले भनेको डेपुटी गभर्नरले नमान्ने, डेपुटी गभर्नरले भनेको कार्यकारी निर्देशकले नमान्ने, कार्यकारी निर्देशकले भनेको निर्देशकले नटेर्ने खालको मनोविज्ञान विकास भएको छ । यसलाई कठोरताको साथ नियन्त्रण गर्न सक्ने चेन अफ कमाण्ड गर्न सक्ने गभर्नर आवश्यक छ ।

नेपालको अर्थव्यवस्थामा रहेको युनिक क्यारेक्टर बुझेको व्यक्ति गभर्नर हुनुपर्छ । जस्तै सहरबाट गाउँमा जाँदा भारी बोकेर गएका गाडी रित्तो आउने गरेको भन्दै त्यस्ता गाडी भरिएर आउने दोहोरो आउने गराउने अबको आवश्यकता हो । त्यसलाई वित्तीय क्षेत्रले कसरी सहयोग गर्नुपर्छ त्यो बुझेको गभर्नर हुनुपर्यो ।

पदमराज रेग्मी, अध्यक्ष वित्तीय संस्था कर्मचारी संघ

विश्व अर्थतन्त्रमा कोरोनाले असर गरेको छ । जसको कारण हाम्रो देशमा पनि धेरै असर पर्ने देखिन्छ । यो अवस्थामा अर्थतन्त्रलाई सन्तुलनमा राख्दै वित्तीय स्थायित्व कायम गर्ने गभर्नर यो अवस्थामा आवश्यक छ । अहिले समर्ग बैंक तथा वित्तीय क्षेत्रका लगानी डुब्ने सक्ने अवस्था छ ।

अगामी दिनमा वित्तीय क्षेत्रको लगानीमा जोखिम सिर्जना हुन्छ । यी सबै परिदृष्यको बीचमा केन्द्रीय बैंकको नेत्तृवमा आउने नयाँ व्यक्ति धेरै अनुभवले खारिएको, अर्थतन्त्र राम्रो बुझेको, सरकारको वित्त नीतिलाई सपोर्ट गर्दै सोही अनुरुपको मौद्रिक नीति ल्याई पूर्णसफल बनाउने गभर्नर आवश्यक छ । मुलुकमा वित्तीय स्थायित्व ल्याउने र राजनैतिक हाम्रो मान्छेभन्दा सबै विषयमा राम्रो मान्छेको खाँचो वित्तीय क्षेत्रलाई छ ।

वित्तीय क्षेत्र नीति, प्रणाली र अनुशासनमा चलेको हुन्छ । ती कुराहरुलाई सबैले परिपालना गरेर अगाडि बढेमा वित्तीय जोखिम कम हुन्छ ।

त्यसकारण वित्तीय नीति, मूल्य मान्यतालाई आत्मसाथ गर्दै संसथालाई विधिस्वतरुपमा राम्रोसँग चलाउन सक्ने, वित्तीय क्षेत्र र बजारको आवश्यकता अनुसार आम सेवाग्राही, कर्मचारी र लगानीकर्ताको पक्षमा लाभ दिने खालको पोलेसी निमार्ण गरी त्यसलाई लागू गर्ने गभर्नर आवश्यक छ ।


पुष्प दुलाल