चैतमा भ्याट र आयकरको किस्ता बुझाउन नपर्ने, सरकार राहत प्याकेजको तयारीमा



काठमाडौैं । सरकारले चैत २५ गतेसम्म बुझाउनुपर्ने मूल्य अभिबृद्धि कर(भ्याट) र आयकरमा सहुलियत दिने तयारी गरेको छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री खतिवडा भ्याटको शुल्क र आयकर बुझाउने समय पर्न सार्न सहमत देखिएका छन् ।

फागनु महिनामा काटेको बिलको भ्याट चैत २५ गतेसम्म बुझाउनुपर्ने नियम छ । यस्तै आयकरको दोस्रो किस्ता चैत मसान्तसम्म बुझाउनुपर्ने छ ।

लकडाउन लम्बिने भएको हुँदा व्यवसायीहरुले भ्याट र आयकरको दोस्रो किस्ता सरकारलाई बुझाउन सक्ने स्थिती छैन ।

‘सरकारलाई बुझाउनुपर्ने भ्याट र आयकरको किस्तालाई केही समय पछाडि सार्ने तयारी भएको छ,कस्ता खाले व्यवसायमा यस्तो छुट दिने हो त्यो निर्णय भनेको भएको छैन,’अर्थमन्त्रालय स्रोतले भन्यो । अर्थमन्त्रालयले अहिले राहत प्याकेजको लागि अध्ययन गरिरहेको छ । अर्थतन्त्रमा पर्ने असरको आधारमा राहतको प्याकेज दिने तयारी सरकारको छ ।

‘जीडीपीमा पर्यटनको हिस्सा ३ प्रतिशत छ,कोरोनाको प्रभाव अर्थतन्त्रमा त्यही नै पर्ने हो,’लकडाउन अगाडि अर्थमन्त्री खतिवडाले भनेका थिए ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा प्रभाव नपार्ने बताएपनि लकडाउन अगाडि नै कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा समस्या परिसकेको थियो । केन्द्रीय तथ्यांक विभागले ५ प्रतिशत मात्र आर्थिक बृद्धिदर हुने अनुमान गरेको थियो । लडडाउनपछि अवूस्था धेरै परिवर्तन भएको छ । एकसाताको लागि भनिएको लकडाउन कोरोना भाइरसको संक्रमणका कारण कति लम्बिने हो त्यो भन्न सकिने स्थिती छैन ।

अन्य देशहरुले लकडाउनको कारण समस्या भएको आर्थिक स्थितीलाई उकास्नको लागि आर्थिक प्याकेजको घोषणा गरिसकेका छन् । नेपाल सरकार भने अहिलेसम्म कस्तो प्याकेज घोषणा गर्नेमा नै अलमलमा परेको छ । लकडाउन अगाडि सरकारले पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसाय र त्यसमा आश्रित कर्मचारी तथा कामदारलाई राहत प्याकेज घोषणा गर्ने तयारी गरेको थियो ।

सो अनुसार अर्थमन्त्रालयले आफ्नो अध्ययन अगाडि बढाएको थियो । लकडाउनपछि सबैजसो उद्योग व्यवसाय बन्द छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरले रोजगारी गुमाएको अवस्था छ । सरकारले कस्तो खालको राहत प्याकेज ल्याउने भन्ने तयारी नै गर्न सकेको छैन ।

अर्थमन्त्रीको संयोजकत्वमा बसेको उच्चस्तरिय वित्तीय क्षेत्र समन्वयन समितिको बैठकले बैंकबाट ऋण लिएकाहरुलाई चैतमा किस्ता र ब्याज बुझाउन नपर्ने निर्णय गरेको थियो । तर,सो अनुसारको कार्यविधी अहिलेसम्म राष्ट्र बैंकले ल्याउन भने सकेको छैन ।

अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको रोजगारी गुम्दा दैनिक खर्च नै कसरी चलाउने भन्ने मुश्किल छ । उद्योगी र व्यवसायीलाई चैतमा बुझाउनुपर्ने बैंकको किस्ता र चैत २५ सम्म बुझाउनुपर्ने मूल्य अभिबृद्धि कर(भ्याट) तथा आयकरको किस्ताले सताएको छ ।

‘उद्योग व्यवसाय बन्द छ,बजारबाट उठ्नुपर्ने पैसा उठ्ने सम्भावना छैन,सरकारलाई कर र बैंकलाई किस्ता बुझाउन सकिने अवस्था छैन,’टे«डिङ ब्यापारमा लागेका व्यवसायीले भने ।

सरकारलाई राहतको प्याकेज दिनको लागि अहिलेको लागि स्रोतको समेत दवाव रहेको छ । फागुन मसान्तसम्ममा लक्ष्य अनुसारको कर उठेको थिएन । सरकारले व्यवसायी तथा काम गुमाएका श्रमिकलाई राहतको प्याकेज दिने तयारी गरेको छ ।


क्लिकमान्डु