अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई राहत उपलब्ध गराउन कन्सलटेन्सीका संघकाे माग



काठमाडौं । शैक्षिक परामर्श संस्थाका ५ वटा संघले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले कोरोना भाइरसका कारण विद्यार्थीलाई मार परेको भन्दै नेपाली विद्यार्थीलाई सहुलियत प्रदान गर्न माग गरेका हुन् ।

शैक्षिक परामर्श संघहरु इक्यान, फेकन, आइरिन, नायर र एकाले जारी गरेको संयुक्त विज्ञप्तीमा नेपालस्थित अष्ट्रेलियन राजदूत, भारतस्थित अष्ट्रेलियन हाइ कमिसन, अष्ट्रेलियन शैक्षिक प्रदायक संस्था, अष्ट्रेलियन समूदाय, अष्ट्रेलियास्थित नेपाली दूतावास तथा अन्य सरोकार वाला पक्षसँग विद्यार्थीलाई सहयोग गर्न आग्रह गरिएको छ ।

जसमा उनीहरुले विभिन्न ९ बुँदे माग अघि सारेका छन् ।

जसमा सन् २०२० को फेब्रुअरी र मार्च महिनाको इन्टेक स्थगत गर्न वा एक वर्षको समय दिएर अर्को इन्टेकमा भर्ना गर्न माग गरेका छन् ।

साथै विद्यार्थी नेपाल फिर्ता हुन चाहेमा विद्यार्थीले बुझाएको सम्पूर्ण ट्युसन शुल्क फिर्ता गर्न, उनीहरुलाई छात्रवृत्ति प्रदान गर्न साथै ट्युसन फिमा २५ प्रतिशतसम्म छुट दिन समेत माग गरेका छन् ।

साथै अहिले अध्यापनमा आएको बाधालाई चिर्नका लागि अनलाइन कक्षा सञ्चालन गर्न समेत त्यहाँका विश्वविद्याललयलाई आग्रह समेत गरेका छन् ।

त्यस्तै, विद्यार्थीको भिसा अवधि ९ महिनासम्म बढाउन, वित्तीय रुपमा अनुदान प्रदान गर्न तथा स्वास्थ्य सुविधा दिन र आपतकालीन यात्रा गर्नु परेमा समेत त्यसको व्यवस्था गरिदिनका लागि समेत आग्रह गरिएको छ ।


क्लिकमान्डु