लकडाउनका बेला काठमाडौंमा किन आयो कतार एयरवेजको विमान ?



काठमाडौं । धेरै दिनपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान अवतरण गर्यो । अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएका बेलामा शुक्रबार बिहान ९ बजेर ३५ मिनेटमा कतार एयरवेजको विमान काठमाडौंमा अवतरण भएको हो ।

नागरिक उडड्यन प्राधिकरण नेपालका अनुसार कतार एयरवेजको विमान युरोपियन नागरिकलाई लैजान आएको हो ।

केही दिन अघिदेखि परराष्ट्र मन्त्रालयबाट फ्रान्सको राजदूतावासले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सम्पर्क गरी अनुमति दिन आह्वान गरेको थियो । सोही अनुरुप कतार एयरवेजको विमान शुक्रबार काठमाडौं आइपुगेको क्यानका महानिर्देशन राजन पोखरेलले क्लिकमाण्डूलाई जानकारी दिए ।

उनका अनुसार फ्रेन्च र जर्मन नागरिकसँगै ३०० जति युरोपियन नागरिक उक्त विमानमार्फत् पेरिस जानेछन् ।

पोखरेलका अनुसार दोहाबाट काठमाडौं आएको विमान सिधै फ्रान्सको पेरिस जानेछ । जसमा ३०० जति युरोपियन नागरिक जानेछन् ।

त्यस्तै शनिबार पनि सोही विमान काठमाडौं आएर बाँकी युरोपियन नागरिकलाई लैजाने तयारी छ । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरैसँग विदेशी यात्रुहरु नेपालमै बस्न बाध्य भएका थिए ।

क्यानका अनुसार अमेरिका, जापान र अष्ट्रेलियाले पनि आफ्ना नागरिक लैजानका लागि अनुमति माग गरिरहेका छन् । तर यो अवस्थामा परराष्ट्र मन्त्रालय मार्फत नै आउनु पर्ने भएकाले उनीहरुले अनुमति पाइसकेका छैनन् ।

सरकारले लकडाउन गर्दै सम्पूर्ण अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा रोक लगाएको थियो ।


क्लिकमान्डु