एक महिनाको तलब कोरोना उपचार कोषलाई दिने बीओकेका सीइओ शोभवदेव पन्तको घोषणा



काठमाडौं । बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शोभनदेव पन्तले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

पन्तले एक महिनाको तलब ५ लाख ५१ हजार ४१३.९४ रुपैयाँ कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने वित्तीय संकट समाधान गर्नका लागि कर्पोरेट क्षेत्रले अग्रसरता लिनुपर्ने समेत बताए ।

मुलुक लकडाउन भएको समयमा दैनिक ज्यालामा काम गर्ने श्रमिक, बेराजगार जनशक्ती सबैभन्दा बढी संकटमा परेको भन्दै यसले निम्त्याउन सक्ने भोकमरी र जीवनशैलीलाई देखिएको समस्या समाधानका लागि कर्पोरेट क्षेत्र अगाडि आउनु पर्ने समेत उनको भनाइ छ ।

उनले बैंक र अन्य कर्पोरेट क्षेत्रहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसका विरुद्ध काम गर्नुपर्ने बताए ।

सबैले कर्पोरेट क्षेत्रले रकम जम्मा गरी कोरोना संक्रमितको उपचारमा खर्च गर्नुपर्ने समेत उनको भनाइ छ । साथै पीपीईलगायतका सामग्री उपलब्ध गराउन पनि कर्पोरेट क्षेत्रलाई आग्रह गरेका छन् ।

मुलुकमा लागू भएको लकडाउनको समय र त्यसपछिको समयमा अत्यावश्यक सामग्रीको आपूर्तिमा निकै चुनौती भएको उल्लेख गर्दै यसमा पनि समस्या समाधान गरिनुपर्ने उनको सुझाव छ ।

उनले दैनिक जीवनयापनका लागि आवश्यक पर्ने नगदको प्रवाह र आपतकालीन समयमा आवश्यक पर्ने अतिरिक्त खर्चका लागि समेत बैंकहरु तयार हुनुपर्ने बताएका छन् ।

मुलुकमा कोरोना भाइरसका कारण रेमिट्यान्सको प्रवाह कम हुने भन्दै त्यसमा पनि ध्यान दिनुपर्ने बताएका छन् ।


क्लिकमान्डु