भारत सरकारले लकडाउनमा बसेका गरीब जनतालाई ३ महिनासम्म नि:शुल्क चामल र दाल दिने



कोरोना भाइरसबाट नियन्त्रण लिनको लागि भारतीय वित्तमन्त्री निर्मला सीतारमणले १.७ लाख करोड भारतीय रुपैयाँको प्याकेज घोषणा गरेकी छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर उनले प्रधानमन्त्री गरीब कल्यण योजना सुरु भएको घोषणा गरेकी छन् । भारतमा बुधबारदेखि लागु हुने गरेर २१ दिनको लकडाउनको घोषणा गरिएको छ । उनले २१ दिनको लकडाउनको समयमा कुनैपनि व्यक्ति भोको नरहने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

कोरोना भाइरसको उपचारमा खटिने डाक्टर,प्यारामेडिकल स्टाफको ५० लाख भारुको बीमा हुने छ । यस्तै ८० करोड गरीबलाई तीन महिनासम्म ५ किलो गहुँ वा चामल तथा दाल निशुल्क दिइने छ ।

किसानलाई २ हजार रुपैयाँ दिइने छ । यसबाट ८.७ करोड किसानलाई राहत मिल्ने छ । मनरेगा योजना अन्तर्गत १८२ स्थानमा दैनिक २०२ रुपैयाँको रोजगारी दिएर ५ करोडलाई लाभा पुर्याउने योजना भारत सरकारले थालेको छ ।

सिनियर सिटिजन्स तथा गरीब,विधवा र अपांगता भएका व्यक्तिलाई तीन महिनासम्म १ हजारको दरले नगद दिने घोषणा गरेको छ । यस्तै उज्जवला योजना अन्गर्त ८ करोड महिलालाई ३ महिनासम्म खाना पकाउने ग्यास निशुल्क दिने घोषणा भारत सरकारले गरेको छ ।

कर्मचारीले संचय कोषमा जम्मा भएको रकममा ७५ प्रतिशत वा तीन महिनाको पैसा निकाल्न सक्ने र यसलाई फिर्ता गर्नु नपर्ने घोषणा गरिएको छ ।


क्लिकमान्डु