कोरोना पुष्टि भएकी युवतीसँगै नेपाल फर्केका युवक अस्पताल जानै मानेनन्



काठमाडौं । फ्रान्सबाट काठमाडौं आएकी १९ वर्षे युवतीमा आइतबार राति १० बजे कोरोनाको संक्रमण भएको पुष्टि भएसँगै देशभर कोरोनाको सन्त्रास छायो ।

सरकारले उनीसँगै आएका अन्य १२५ यात्रुको पनि पहिचान गर्न शुरु गर्यो । यसै क्रममा उदयपुरको बेलका नगरपालिकाका केही स्थानीयलाई पनि आफ्नो गाउँमा कतारबाट सोही समयमा फर्किएका एकजनामाथि शंका लाग्यो ।

तामाङ थरका ती युवासँग स्थानीयले सोधपुछ गर्दा आफू ती युवतीसँग नआएको र आफूलाई केही पनि नभएको भन्दै पन्छिन खोजेका थिए । तर उनकै छोरीले घरभित्रबाट टिकट ल्याएर देखाइदिएपछि भने उनी सोही ६५२ नम्बरको उडान अर्थात् सोही विमानबाट आएको पुष्टि भएको थियो ।

ती युवक स्वास्थ्य परीक्षण बिना नै घरपरिवार तथा छिमेकमा सम्पर्कमा बस्दै आएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका ती युवक कतारबाट नेपालमा चैत ४ गते साँझ ८.३० बजे आइपुगेका थिए । उनलाई नेपालको एयरपोर्टमा सामान्य स्वास्थ्य परीक्षण अर्थात् शरीरको तापक्रम परीक्षण मात्र गरिएको थियो ।

त्यसदिन ती युवक एयरपोर्टकै एक होटलमा रात बिताएर चैत ५ गते नाइट बसमा बेलका नगरपालिकास्थित घर पुगेका थिए । वैदेशिक रोजगारबाट लामो समयपछि घर फर्किएका ती युवक घर पुगेका दिनदेखि नै आफन्त तथा साथीभाईसँग भेटघाट गरिरहेका छन् ।

ती युवकबारे स्थानीयबासीमा जानकारी फैलिएपछि त्यहाँका सञ्चारमाध्यम र स्थानीयले स्वास्थ्य स्थीतिबारे सोधपुछ गरेका थिए । जसमा उनले आफू स्वास्थ नै भएको दाबी गर्दै आएका थिए ।

 

त्यतिञ्जेलसम्म युवक आफू कोरोना संक्रमित युवतीसँग नआएको दाबी गर्दै खुलेआम हिँडडुल गर्दै आएका थिए । स्थानीयले दबाब दिएपछि हाल उनी होम क्वारेन्टाइनमा बसेका छन् ।

चौधरी थरका युवकलाई अस्पताल लगियो
यही चैत ५ गते कतार एरलाइन्सबाटै नेपाल आएका अन्य ४ जना अन्य युवक फेला पारेका छन् । बेलका नगरपालिका वडा न. ३ रातापानीका चौधरी थरका एक युवक बिरामी अवस्थामा घरमै काम गरिरहेका थिए ।

चौधरी बिरामी हुँदा पनि आइसोलेसनमा नबसी घर बाहिर काम गर्ने, साथीभाइ भेटघाट गर्ने लगायतका काम गरिरहेका थिए ।

चौधरी कतारबाट आएको र अस्वस्थ्य भेटिएको कारण केही स्थानीय बासिन्दाले त्यहाँ मेयर दुर्गाकुमार थापा (स्वस्तिक)लाई खबर गरेका थिए । स्थानीयले मेयर थापालाई चौधरीको सम्पूर्ण जानकारी गराउँदा समेत मेयरले चौधारीको उपचारमा चासो नदेखाएपछि उनीहरुले मेयरसँग प्रश्न गर्न थालेका थिए ।

मेयर थापाले स्थानीयहरुको प्रश्नको जवाफ आफ्नो फेसबुकमार्फत स्टाटस लेख्दै दिएका थिए ।

जसमा उनले आफूले मुख्यमन्त्री, उनका स्वकीय सचिव, आन्तरिक मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय, विपि कोइराला अस्पतालमा चौधारीको जानकारी गराई सहयोगको अपिल गर्दा कुनै प्रतिक्रिया नआएको उल्लेख गरेका छन् ।

मेयरले फेसबुकमा सो स्ट्याटस राखेपछि स्थानीयले प्रदेश नम्बर १ मा फोन सम्पर्क गरेर वास्तविकता जानकारी गराएका थिए ।

स्थानीयले प्रदेश सरकारमा जानकारी गराएको २ घण्टा बित्न नपाउदै प्रदेश सरकारको समन्वयमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्रहरीसहित एम्बुलेन्स र २ वटा भ्यानमा स्वास्थ्यकर्मी आएर चौधरीलाई धरान विपि कोइरला हस्पिटल लगेका थिए । हाल चौधरीको सोही अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

बेलका नगरपालीकाका मेयर थापाले फेसबुकमार्फत आफ्नो लापरवाही र लाचारीपन देखाएपछि स्थानीयहरुले उनको विरोधमा गरेका थिए । चौधरी बाहेक उनको परिवारमा अन्य ५ जना सदस्य छन् ।

उनीहरुको स्वास्थ्य परीक्षणका लागि स्थानीय सरकारले कुनै कदम चालेको छैन् । साथै चौधरीसँगै कतारबाट बेलकासम्म आएका अन्य ३ जना युवकहरुको पनि स्वास्थ्य परीक्षणका लागि केही पहल भएको छैन ।

सबै स्थानीय सरकारले बाहिरबाट आउने प्रत्येक व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र सम्बन्धित स्थानमा प्रवेश दिएको छ । बाहिरबाट आउने व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने भनेर विज्ञप्ती नै जारी गरेपनि हालसम्म कसैको पनि स्वास्थ्य परीक्षण गरेको छैन् ।

 बाग्लुङका युवक पनि क्वारेन्टाइनमा
श्रेष्ठ र ती युवतीसँगै नेपाल आएका बाग्लुङका एक युवकलाई होम क्वारेन्टाइनमा राखिएको छ । सरकारले देशभर लकडाउन गरेपछि सोही विमानमा यात्रा गर्ने यात्रुको खोजी शुरु भएको थियो । जसमध्ये एक जना बाग्लुङका युवक रहेको थाहा पाएपछि उनीसँग सम्पर्क गरी क्वारेन्टाइनमा राखिएको छ ।

 


क्लिकमान्डु