वित्तीय क्षेत्रबाट कोरोना भाइरस कोषमा ६ करोड रुपैयाँ सहयोग



काठमाडौं । कोरोना भाइरस रोकथाम तथा उपचारका लागि बैंक तथा वित्तीय संस्थाले ५ करोड ९० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

आइतबार उपप्रधान मन्त्री ईश्वर पोखरेलको संयोजत्वमा स्थापना भएको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा कृषि विकास बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल बैंक, बीमा समिति र धितोपत्र बोर्डले सहयोगको घोषणा गरेका हुन् ।

जसमा नेपाल बैंकले १ करोड रुपैयाँ, कृषि विकास बैंकले १ करोड २५ लाख, ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

यसैगरी वित्तीय क्षेत्रका नियमक निकायहरुले पनि कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा सहयोगको घोषणा गरिरहेका छन् ।

जसमा बीमा समितिले २ करोड रुपैयाँ र धितोपत्र बोर्डले ५० लाख रुपैयाँ सरकारलाई कोरोना भाइरस रोकथाम तथा उपचारका लागि सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

आइतबार उपप्रधान मन्त्रीको संयोजत्वमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, पर्यटनमन्त्री र शिक्षामन्त्रीसहितले कोरोना भाइरस रोकथाम तथा उपचार कोष स्थापना गरेका थिए ।

कोषको नाममा मंगलबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यलयमा खाता खोलिएको छ ।

कोषको १९६०००००११०१ नम्बरको सो खातामा नेकपा संसादहरुले आधा महिनाको तलब जम्मा गर्ने घोषणा गरिसकेका छन् भने केन्द्र सरकारका सबै मन्त्रीहरुले १ महिना बराबरको तलब सो कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

साथै राष्ट्रपति विद्यादेवी भन्डारीले २ महिना बराबरको तलब कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेकी छिन् ।

कोषमा निजी क्षेत्रका विभिन्न संघ सस्था र व्यक्तिगत रुपमा पनि सहयोगको घोषणा गर्ने क्रम बढ्दो छ ।


क्लिकमान्डु